१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

राजनीतिमा राजेन्द्र : भरपर्दा र इमानी वडाध्यक्ष



१९ वर्षको एउटा लक्का जवान राजनीति बुझ्न थालिसकेको थियो । तर, तत्काल राजनीतिमा लाग्ने आँट थिएन । परिवारले मान्ने कुरा पनि भएन । भविष्यमा के बन्ने भन्ने अनेक सपना मनमा थिए । पहाडको ठाउँ । लिम्वूको छोरो । धेरै साथीभाइले लाहुरे बन्ने सपना सँगालेका हुन्थे । साथीहरुको सपना वरिपरि उनको पनि मन भुलियो । उनी अर्थात राजेन्द्रप्रसाद लिङ्देन ।

पाँचथरको अमरपुर माविबाट २०३५ सालमा एसएलसी परीक्षा पास गरेपछि क्याम्पस कहाँ पढ्ने भन्ने चिन्ता थियो । त्यतिबेलै ब्रिटिस लाहुरेमा भर्ना खुलेको खबर गाउँभरि फैलियो । उनको ध्यान त्यतै तानियो ।

उच्च शिक्षा अध्ययन भन्दापनि लाहुरे बन्ने रहर उनलाई पलायो । परिवारको चाहना पनि त्यही थियो । गाउँमा भएको छनोटमा उनी पास भए । लगत्तै उनलाई धरान लगियो । धरानमा भएको प्रतिस्पर्धामा पनि उनी उत्कृष्टमा परे । त्यसपछि २०३६ देखि सुरु भयो राजेन्द्रको ब्रिटिस आर्मीको जागिरे जिन्दगी ।

पहाडको हावापानी र माटोको सुगन्धमा रमाएका राजेन्द्रले १८ वर्ष ब्रिटिस आर्मीमा बिताए । जागिरे जीवन सकेर नेपाल फर्किरहँदा २०५४ सालमा स्थानीय निकायमा चुनावी चहलपहल चलिरहेको थियो । उनले हिजो बुझेको राजनीति र आज बुझेको राजनीतिमा धेरै भिन्नता आइसकेको थियो ।

राजनीति प्रतिको बुझाइ र त्यसको पृष्ठभूमिमा उनका जेठा दाजु भवानीप्रसाद लिङ्देन पाँचथरको अमरपुर गाविसको अध्यक्षमा नेकपा एमालेका तर्फबाट उमेद्वार थिए । उनी पनि दाजुलाई जिताउन भोट माग्दै गाउँ–गाउँ पुगे । नभन्दै भवानीले चुनाव जिते ।

‘राजनीतिमा लाग्छु भन्ने मनमा थियो । दाजुको प्रेरणाले मलाई साँच्चिकै राजनीतिक यात्रामा होमिने एउटा अवसर दिलायो’, बिहीवार बिहान स्पीक कर्नरमा पत्रकारहरुसँग सम्वादका लागि तयार भइरहँदा राजेन्द्रले विगत कोट्याउँदै भने, ‘त्यही बेलादेखि म एमालेको राजनीतिमा आकर्षित भएँ । अहिले पनि एउटा इमान्दार कार्यकर्ताको रुपमा पार्टीले दिएको जिम्मेवारीमा काम गरिरहेको छु ।’

पाँचथरबाट झापा झरेपछि उनको संगत एमालेका नेताहरुसँग भयो । मनकुमार गौतम, लोकबन्धु कन्दङ्वा, हरिचरण सिवाकोटी, गोपी गिरी, बुद्धि घिमिरे, हरि आचार्य, प्रेम थापा लगायतसँगको सम्पर्कले उनलाई एमालेको राजनीतिमा थप सक्रिय भएर लाग्न हौसला मिल्यो ।

राजनीतिमा सक्रिय भएर लागेको २० वर्षपछि उनले २०७४ को स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिका वडा नम्वर ५ मा एमालेको तर्फबाट वडाध्यक्षको टिकट पाए । शानदार मतले जितेपछि राजेन्द्रको चर्चा स्थानीय राजनीतिमा चुलियो । २०६० सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका राजेन्द्र दोस्रो कार्यकालका लागि पनि यतिबेला वडाध्यक्षको उमेद्वार छन् ।

घनाबस्ती र पुराना संरचना भएको वडामा उनले पाँच वर्षमा के के गरे ? जनताले मूल्याङ्कन गरेका छन् । उनी आफैँ पाँचवर्षे कार्यकालका त्यस्ता साक्षी हुन्, जसले जनताको हित र स्वार्थभन्दा बाहिर कहिल्यै काम गरेनन् । उनी लगायतका जनप्रतिनिधिले दुईवर्ष राम्रोसँग काम गर्ने मौका पाए ।

विश्वव्यापी कोरोना भाइरसको प्रभाव र त्यसले आर्थिक सामाजिक क्षेत्रमा पारेको संकटले दुईवर्ष उनीहरुको कार्यकाल उपलब्धिमूलक हुन सकेन । वडाबासी मतदाताको चाहना र जनसहभागिताका आधारमा विकास योजना सञ्चालन गर्ने सवालमा राजेन्द्र गम्भीर र सचेत छन् ।

उनी भन्छन्, ‘अपेक्षाकृत काम गर्न सकिएन होला । तर, सन्तोषजनक काम गरेको छु ।’ उनले बाँकी रहेका काम पूरा गर्न आफ्नो उमेद्वारी रहेको बताए ।

एउटा इमान्दार र स्वच्छ नेताको छवि बनाएका राजेन्द्र पाँचवर्षे कार्यकालमा कहिल्यै पनि विवादमा तानिएनन् । उनले सबै पार्टीको भावना र चाहना अनुरुप आफूलाई उभ्याए । इमान जमानमा उनी कहिल्यै चुकेनन् । स्वाभिमानमा झुकेनन् ।

६२ वर्षीय राजेन्द्र फेरि वडाको नेतृत्व लिन चाहन्छन् । उनलाई आफ्नो वडाबासी मतदातासँग पूरापूर भरोसा छ । मतदाताको विश्वास, सहभागिता र सक्रियतामा विकासको जग बसाल्ने राजेन्द्रको राजनीतिक अवधारणा आफैँमा नौलो प्रयास हुनेछ ।

राजनीतिमा ब्रिटिस लाहुरेको जस्तो कठोर अनुशासन त छैन् । तर, व्यक्तिगत इमान्दारिता, सरल जीवनशैली, नम्र स्वभाव र असल आचरणका अनुयायी राजेन्द्र सबै जातजाति र भाषाभाषीको समस्यामा दिनरात नभनी खट्न सक्छन् ।

साँझ अवेर होस् वा बिहान, जनसेवाका काममा उनको लोभलाग्दो सक्रियता बिर्तामोडको राजनीतिका लागि आज मात्रै होइन, सधैँ र सबैबेला खाँचो छ । वडाध्यक्षमा जितका लागि उनलाई हार्दिक शुभकामना ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ३ : ४२ बजे