१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

बीरता लेडी जेसीजद्वारा महिला पाइलट जीना लिङदेनलाई ‘उत्कृष्ट नारी सम्मान’



झापा-बीरता लेडी जेसीजले नागरिक उड्ययनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी महिला पाइलट जीना लिङदेनलाई ‘उत्कृष्ट नारी सम्मान २०७९’ द्वारा सम्मान गरेको छ ।

झापाको बिर्तामोडमा बिहीवार आयोजित विशेष समारोहका बीच लेडी जेसीजले लिङदेनलाई उत्कृट नारी सम्मान समर्पण गरेको हो ।

११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला पाइलट लिङदेनलाई सम्मान गरिएको बीरता लेडी जेसीजले जनाएको छ । लेडी जेसीज पूर्व अध्यक्ष क्लवको अग्रसरतामा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

लेडी जेसीजको यो अभियानमा अरु चार दर्जन सामाजिक संघ संस्थाले पनि साथ दिँदै सम्मान प्रकट गरेका छन् । उसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि राना मगरकाे व्यक्तित्व माथि नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्यले प्रकाश पारेकी छन् ।

२०२१ देखि बीरता लेडी जेसीजले पूर्व अध्यक्ष क्लवमार्फत उत्कृष्ट नारी सम्मानको कार्यक्रम सुरु गरेको थियो । विभिन्न क्षेत्रमा रहेका अब्बल महिलाको मेहनत र योगदानको कदरस्वरुप निरन्तर सम्मानको श्रृङ्खला सुरु भएको बीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष राधा सुब्बाले बताइन् ।

यति एयरमा उडान भरेकी लिङदेन झापाको पहिलो महिला पाइलटको रुपमा परिचित छिन् । काठमाडौँ बस्दै आएकी लिङ्देनका पति राजेश श्रेष्ठ पनि विमान चलाउँछन् । उद्योगी रामकुमार लिङदेनकी छोरी हुन् जीना । उनका दाजु विजय लिङदेन डाक्टर छन् ।

संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यबाट हवाई उड्डयनको क्षेत्रमा विशेष अध्ययन र प्रयोगात्मक तालिम समेत लिएकी लिङदेन २०५८ सालदेखि पाइलटका रुपमा कार्यरत छिन् ।

नेपालको हिमाली तथा उच्च पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, ताप्लेजुङ जस्ता ठाउँहरुमा समेत सफलतापूर्वक उडान र अवतरण गराइसकेकी लिङदेनलाई साहसिक महिला पाइलट रुपमा पनि लिने गरिएको छ ।

लिम्वू समुदायको पहिलो महिला पाइलटका रुपमा पनि जीनाको परिचय स्थापित छ । बीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले प्राविधिक क्षेत्रमा आफूलाई अब्बल स्थापित गर्दै पाइलटका रुपमा काम गरेकी लिङदेनलाई सम्मान गर्न पाउँदा संस्थाको उचाई अझै बढेको बताइन् ।

यसअघि झापाका दुई विशिष्ट महिला प्रतिभालाई ‘उत्कृष्ट नारी सम्मान’

बीरता लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष मेनुका ओलीका अनुसार यसअघि झापाका दुई विशिष्ट महिला प्रतिभालाई ‘उत्कृष्ट नारी सम्मान’ समर्पण गरिएको थियो ।

पहिलो पटक समाजसेवी तथा राजनीतिज्ञ गिरीराजकुमारी प्रसाईलाई लेडी जेसीजले उत्कृष्ट नारी सम्मान प्रदान गरेको थियो । एउटी आदर्श आमाका रुपमा प्रसाईले खेलेको भूमिका झापाको राजनीति तथा सामाजिक वृत्तमा अविष्मरणीय छ ।

झापाको पहिलो महिला प्रधानाध्यापकका रुपमा बीरता लेडी जेसीजले दोस्रो सम्मान शिक्षासेवी प्रभा घिमिरेलाई समर्पण गरेको थियो । अघिल्लो वर्ष घिमिरेलाई सम्मान गरिएको कार्यकारिणी उपाध्यक्ष ओलीले बताइन् ।

‘अघिल्लो वर्ष राजनीति र समाजसेवाका साथै शिक्षण अभ्यासमा लामो समय बिताएका अग्रज प्रतिभाशाली महिलालाई सम्मान गरेका थियौँ’, उपाध्यक्ष ओलीले भनिन्, ‘यसवर्ष प्राविधिक क्षेत्रमा स्थापित महिला प्रतिभालाई सम्मान गरेका छौँ ।’

यस्तो थियो सिफारिस समिति
बीरता लेडी जेसीजले यसवर्ष उत्कृष्ट नारी सम्मानका लागि प्रतिभा छनोट गर्न तीन सदस्यीय समिति बनाएको थियो । रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोलको संयोजकत्वमा गठित समितिले महिला पाइलट लिङदेनलाई सम्मानका लागि सिफारिस गरेको थियो ।

समितिमा बीरता जेसीजका पूर्व अध्यक्ष शेखर ढकाल र मेची क्याम्पसकी प्राध्यापक गायत्री सुवेदी सदस्य थिए । उनीहरुको छनोटका आधारमा लिङदेनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, छनाैट समिति संयोजक लीला अनमाेल, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, समाजसेवी मेगेन्द्र लिङदेन लगायतले शुभकामना मन्तव्य राखेका छन्

बीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी सचिव संगीता चिमरियाले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि पूर्व अध्यक्ष उर्मिला विमलीले प्रकाश पारेकी छन् ।

महिलाहरु पार्टीको रबर स्ट्याम मात्र होइनन् : उपसभामुख

उपसभामुख इन्दिरा राना मगरले प्रतिनिधि सभामा आफ्नो भूमिकालाई प्रभावकारी र परिणामुखी बनाउन निरन्तर खटिरहेको बताएकी छन् । बीरता लेडी जेसीजले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपसभामुख रानाले त्यस्तो बताएकी हुन् ।

एक्सनमा नउत्रिएसम्म महिलाहरुको हक अधिकार सुनिश्चित नहुने बताउँदै उपसभामुख रानाले पार्टीको साइज अनुसार गरिने व्यवहार अन्त्य हुनु पर्नेमा जोड दिइन् ।

महिलाहरु पार्टीको रबर स्ट्याम मात्र बन्न नहुने उपसभामुख रानाको धारणा छ । महिला सांसद मर्दा राज्यका निकायले समेत वेवास्ता गरेको जनाउँदै उपसभामुख रानाले यस विषयमा गम्भीर हुन आग्रह गरेकी छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार ००:००  १ : ४५ बजे