८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आरोह अवरोहमा विश्वप्रकाश




झापाको क्षेत्र नम्बर १ मा लगातार दुई पटक पराजय व्यहोरेका काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसपटक संसदीय राजनीतिको यात्रामा बाजी मारेका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमालेका स्थानीय प्रभावशाली नेता रविन कोइरालासँग पराजित भएका शर्मा २०७४ को निर्वाचनमा पनि संसद छिर्न सकेका थिएनन् ।

नेकपा एमाले र माओवादी केन्द्र एकतापछि भएको २०७४ को निर्वाचनमा कांग्रेस नेता शर्माले माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजय व्यहोर्नु परेको थियो ‌।

यसपटक भने महामन्त्री शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता अग्नि खरेललाई भारी मतान्तरले पराजित गरेका छन् ।

सत्ता गठबन्धनका साझा उमेद्वार शर्माले खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् ।

एमालेको प्रभाव क्षेत्र मानिने झापा १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । निर्वाचन कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मतमा चित्त बुझाउनु परेको छ ।

पटक–पटक हार्दा पनि आफ्नो संसदीय निर्वाचन क्षेत्र नछोडी तेस्रोपटक उमेद्वार बनेका शर्मालाई जनताले यसपटक भारी मत दिएर विजयी गराएका छन् ।

२०२७ पुस ६ गते शान्तिनगरमा जन्मिएका शर्मा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।

बुवा पर्शुराम र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । महामन्त्री शर्माका एक छोरा र एक छोरी छन् ।

२०४१ सालमा विद्यालय तहबाट राजनीति सुरु गरेका शर्माले पार्टीको राजनीतिमा एकपछि अर्को गर्दै फड्को मारेका छन् । साहित्य र पत्रकारिताको क्षेत्रमा पनि उनको योगदान छ ‌।

२०४३ सालमा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापतिका रूपमा पहिलोपटक निर्वाचित भएका शर्मा प्रखर बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय सभापति भएपछि शर्माले आफ्नो राजनीतिक भूमिकालाई अझै फराकिलो र परिष्कृत बनाउने मौका पाए ।

पार्टीको केन्द्रीय सदस्य हुँदै केही समय प्रवक्ताका रुपमा समेत काम गर्ने मौका पाएका शर्मा गतवर्ष सम्पन्न महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।

काङ्ग्रेस महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दाबढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार ००:००  ८ : ५४ बजे