१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

यसरी मुख्यमन्त्री भए एमाले नेता हिक्मत कार्की



झापा– राजनीतिमा गर्दै आएको श्रृङ्खलावद्ध योगदानले एमाले नेता हिक्मतकुमार कार्कीलाई प्रदेशको मुख्यमन्त्री बन्ने अवसर मिलेको छ । ९३ प्रदेशसभा सदस्य रहेको प्रदेश–१ को मुख्यमन्त्रीमा आइतवार कार्कीलाई सहज बहुमत ६० सांसदको हस्ताक्षर प्राप्त भएको हो ।

मुलुकले प्रादेशिक संरचनाको प्रारम्भिक अभ्यास थालिरहँदादेखि कार्की मुख्यमन्त्री बन्ने राजनीतिक प्रयासमा थिए । आफूभन्दा सिनियर कतिपय नेताको दावीलाई नकार्न नसक्दा उनले पहिलो कार्यकालमा मुख्यमन्त्री हुने अवसर पाएनन् । तर, महत्वपूर्ण मन्त्रालयमा उनले जिम्मेवारी पाए ।

प्रदेश बुझेको एउटा मुख्यमन्त्रीका रुपमा कार्कीलाई लिने गरिएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदल र एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा बनेको समीकरणले मुख्यमन्त्री हुने कार्कीको सपना साकार भएको हो । प्रदेश–१ को मुख्यमन्त्री बन्ने कार्कीको चाहनामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले साथ दिएका छन् ।

उनी प्रदेश १ का चौथो मुख्यमन्त्री हुन् । ३ फागुन २०७४ मा शेरधन राई पहिलो मुख्यमन्त्री बन्दा उनको मन्त्रिरिषदमा कार्की आन्तरिक मामिला तथा कानून मन्त्री बने । कार्की ४३ महिना उक्त पदमा रहे । शेरधनपछि एमालेका तत्कालीन पार्टी सचिव भीम आचार्य मुख्यमन्त्री भए । २ भदौ २०७८ मा एमाले फुट्यो ।

एमालेबाट अलग भएर एकीकृत समाजवादीतिर लागेका राजेन्द्र राई, प्रदेश–१ को तेस्रो मुख्यमन्त्री भए । जबकी राजेन्द्र २०५५ मा अखिलको महासचिव हुँदा हिक्मत त्यही कमिटीको अध्यक्ष थिए । तर राजनीतिक शक्ति संघर्ष र पार्टी विभाजनकै कारण हिक्मत भन्दा पहिले राजेन्द्र मुख्यमन्त्री हुन पुगेका थिए ।

को हुन् मुख्यमन्त्री कार्की ? यस्तो छ राजनीतिक नालीबेली
२०२३ साल असार ८ गते झापाको गौरादह ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनले एसएलसी सम्मको अध्ययन स्थानीय जनता माविमा गरेका हुन् ।

विद्यालय तहको पढाई चलिरहँदा कार्की राजनीतिमा लागेका हुन् । अनेरास्ववियुमा संगठित भएपछि १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा उनी सहभागी भए । उनका बुबा बमबहादुर समेत राजनीतिक व्यक्तित्व थिए । कार्कीले २०३७ सालमा अनेरास्ववियू पाँचौको सदस्यता लिए । २०४२ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा आइएल अध्ययन गर्न उनी धरान गए ।

आइएल सकेर उच्च शिक्षाका निम्ति उनी २०४५ साल पुसमा नेपाल ल कलेज काठमाडौँमा भर्ना भए । ल क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हुँदै उनले २०४६ सालको आन्दोलनमा सहभागिता जनाउने मौका पाए । त्यसबेला पार्टीका ठूला नेताहरु जेल गइसकेपछि कार्कीको नेतृत्वमा रेवतीरमण भण्डारी सहितले आन्दोलन हाँकेका थिए । त्यसबेला उनी पक्राउ पनि परे ।

कार्कीले कानुनमा स्नातकोत्तर गरेका छन् । अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भुमिकामा कार्की देखिइरहे । कार्की २०५० मा अनेरास्ववियूको केन्द्रीय सचिव निर्वाचित भए । उपाध्यक्ष हुँदै उनले उनले २०५५ साल भदौ २७ गते १४ औँ राष्ट्रिय महाधिवेशनबाट अनेरास्ववियूको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे ।

२०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका कार्की मेची अञ्चल समन्वय कमिटीको इन्चार्जका रुपमा राजनीतिक भूमिकामा देखिए । प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका उनले निभाइसकेका छन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्कीले प्रदेश १ को स्थापनाकालीन मन्त्री परिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी सम्हालेका थिए । कार्कीले आफ्नो कार्यकालमा ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दाबढी नियमावली, कार्यविधि तर्जुमा गरी कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् ।

प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीको क्षमता वृद्धि, संस्थागत सवलीकरण, आधुनिकीकरण र पूर्वाधारको विकासमा योगदान गरेका कार्कीले सञ्चार क्षेत्रको समेत जिम्मेवारीलाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापनामा महत्वपूर्ण भूमिका खेलेका छन् । कार्की २०७९ मा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा समेत झापा ५(१)बाट प्रदेश सभा सदस्यमा अत्याधिक मतसहित बिजयी भएका थिए ।

नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता समेत रहेका कार्की एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इञ्चार्जको भूमिकामा छन ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार ००:००  ९ : ३५ बजे