२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

आगन्तुक चरा घटेपछि विज्ञहरु चिन्तित



सुनसरी-कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रमा आगन्तुक चराको सङ्ख्या घटेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । बासस्थानको अभाव, अतिक्रमण र बालीनालीमा बढ्दो विषादीको प्रयोगले आगन्तुक चरा विस्थापित हुँदै गएको सरोकारवालाको अनुमान छ ।

यस वर्ष कोशीटपु आरक्षण लगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका ५ हजार ५२७ को सङ्ख्यामा चरा फेला परेका छन् । गतवर्ष ५६ प्रजातिका ७ हजार ५७३ चरा रहेको आरक्षको तथ्याङ्क छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले आगन्तुक चराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको बताए । चराको बासस्थानमा भइरहेको अतिक्रमणले सङ्ख्या घटेको हुनसक्ने उनको अनुमान छ ।

केन्द्र प्रमुख गौतमका अनुसार सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष मुलुकको चराको राजधानी हो । हरेक वर्ष असोजदेखि पुससम्ममा हिउँदे पर्यटक चरा नेपाल आउने गरेका छन् ।

५० भन्दा बढी प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलंकातिर भौतारिन्छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार ००:००  ११ : १२ बजे