१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

बन्द हड्तालको विकल्प खोज्न बिर्तामोडका व्यवसायीको माग



झापा- नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । आइतबार महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा बन्द हड्ताल जस्ता कार्यले नेपाली अर्थतन्त्र तहस नहस हुने निश्चित भएको जनाइएको छ ।

विज्ञप्तिमा आर्थिक मन्दीकै कारण आयआर्जनमा परेको नकारात्मक असरका कारण आम्दानी घटेकोले बैँकको व्याज समेत तिर्न नसकेर व्यवसायी आत्मदाह र आत्महत्यासम्मको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासंघले विरोधका अन्य वैकल्पिक उपायहरु अपनाएर बजार, यातायात तथा शैक्षिक संस्था बन्द गर्ने कार्य तत्काल फिर्ता लिई व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने वातावरणको माग गरेको हो ।

महासंघ नगर कमिटीले बन्द हड्ताल जस्ता कार्य निरन्तर भइरहेमा बिर्तामोडका सम्पूर्ण व्यवसायी त्यसको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी चुडामणि पौडेल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार ००:००  ९ : ३० बजे