२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

अपहरणपछि एकै परिवारका दुई जनाको हत्या




धनुषा-जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए ।

सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए ।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएको र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए ।

क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन्। मृतक दुवैजनाको परिवार यसअघि वडा नम्बर १३ मै एकै ठाउँ बस्दै आएको भए पनि अंशबन्डापछि अलग–अलग भएका थिए।

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरूको रहेको जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार ००:००  ९ : १७ बजे