२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

शवयात्रामा सहभागीले भने, ‘गुमनाम मृत्युबाट बचे पाण्डे’




झापा-कम्वोडियाको एउटा होटलमा आगलागी हुँदा ज्यान गुमाएका नेपाली युवा निराकार पाण्डेको २४ दिनपछि शनिवार झापामा दाहसंस्कार गरिएको छ । नेपाल एयरलाइन्सको विमानबाट शुक्रवार राति पाण्डेको शव काठमाडौँ ल्याइएको थियो ।

काठमाडौँबाट बिहान झापा ल्याएर कनकाई मार्इमा पाण्डेको दाहसंस्कार गरिएको हो । पाण्डेको शव यात्रामा हजारौँ मानिस सहभागी भएका छन् ।

झापाको बिर्तामोड–१ का स्थायी बासिन्दा पाण्डे थाइल्याण्डको सीमा नजिक कम्वोडियाको एउटा होटलमा आगलागी हुँदा आफू बसेको १२ औँ तलाबाट हाम फालेका थिए ।

पुस १४ गते मध्यरातमा भएको आगलागीमा झण्डै तीनदर्जन नागरिकको मृत्य’ भएको थियो । आगलागी सुरु भएपछि ३९ वर्षीय पाण्डेले श्रीमती, आमाबाबु, दाजुभाई लगायतका आफन्त र परिवारसँग साढे चारघण्टा कुरा गरेका थिए ।

लामो समयसम्म पर्खिदा पनि उद्धार नभएपछि १२ औँ तलाबाट हाम फालेका पाण्डेको शव सरकारी प्रयासमा २४ दिनपछि नेपाल ल्याइएको हो ।
उद्धार नभए जलेर मर्नुको विकल्प नहुने भन्दै पाण्डेले मर्नै परे परिवारसमक्ष शव पुग्ने गरी होटलबाट हाम फाल्ने बताएका थिए । मृत्युको मुखमा पुगेका बेला परिवारसँग पाण्डेले गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

मृत्युवरण गर्नुअघि पाण्डेले पाण्डेले आफ्ना १० वर्षीय छोरालाई असल बन्न गरेको अनुरोधले धेरैलाई भावविह्वल बनाएको थियो । एउटा पीडादायी र मार्मिक मृत्युको यो घटनामा पाण्डेले धेरैलाई रुवाएर गएका छन् ।

उनको शवयात्रामा सहभागीहरु भन्दै थिए, ‘गुमनाम मृत्युबाट बचे, धेरै मान्छेले मृत्युका अगाडि उनको विवशतालाई सम्झनेछन् । दर्दनाक र पीडादायी उनको मृत्युवरण कोही कसैले सोच्न नपरोस् ।’

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ००:००  ९ : २९ बजे