२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

पत्रकार उपचार कोषमा जम्मा भयो ६४ लाख



बिर्तामोड- नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । पत्रकारको सामाजिक सुरक्षाका लागि एक करोडको लक्ष्यसहित कोष स्थापना भएको थियो ।

कोषको ब्याजबाट बिरामी तथा घाइते पत्रकारलाई उपचार खर्च उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ । सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय , सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् ।

महासंघका सदस्यले उपचार सुविधा लिन न्यूनतम् तीन हजार शुल्क तिरेर कोषमा आवद्ध हुनुपर्ने व्यवस्था छ । महासंघको अघिल्लो साधारणसभाले पारित गरेको कार्यविधि अनुसार पत्रकारले कोषमा एक पटक आवद्धता शुल्क बुझाएपछि पुनः बुझाउनु पर्दैन ।

महासंघले बिरामी तथा घाइते पत्रकारलाई ‘क’ ‘ख’ ‘ग’ गरी तीन वर्गमा विभाजिन गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपचार खर्च उपलब्ध गराउँदै आएको थियो । उपचार कोष कार्यविधि संशोधन गरी अब ३० हजारसम्म उपचार खर्च दिन निर्णय गरिएको छ ।

पत्रकार महिला सुत्केरी हुँदा शल्यक्रिया गर्नुपर्ने भएमा २५ हजार रुपैयाँ उपचार खर्च महासंघले कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ । महासंघले सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार ००:००  ८ : ३३ बजे