२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

उम्मेदवार नपाएर गठबन्धनमा खडेरी : एमाले अध्यक्ष ओली



शनिश्चरे– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले आफ्नो कार्य क्षमता देखाउन नसकेको बताएका छन् ।

झापाको २ नम्बर क्षेत्र अन्तरगत सालवारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जनताको विश्वास र भरोसाको पार्टी एमाले मात्रै भएको दावी गरे ।

इखले भए पनि एमालेलाई देखाउन देश र जनताको हितमा काम गर्नुपर्ने बेलामा पनि गठबन्धन सरकार निरीह र लाचार सावित भएको एमाले अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले कतिपय ठाउँमा उम्मेदवार नपाएर गठबन्धनमा खडेरी परेको र त्यसमा आवद्ध दलहरुले आफ्नो पार्टीका नेता कार्यकर्तालाई लगेको भन्दै व्यङ्ग्य गरे ।

अध्यक्ष ओलीले झापा २ बाट गठबन्धनका उमेद्वार हरिकुमार रानालाई एमालेको मामुली कार्यकर्ताका रुपमा टिप्पणी गरे । अर्जुनधाराका पूर्व मेयर राना एमालेले टिकट नदिएपछि गठबन्धनमा लागेका छन् । एमालेको मत पाउने आशा राखेका राना आफ्ना सहयात्री देवराज घिमिरेसँग प्रतिस्पर्धा गर्दैछन् ।

जुनसुकै नारा र स्वरुप लिएर आएपनि एमाले बाहेकका राजनीतिक समूह र शक्तिलाई जनताले हतारमा नपत्याउने अध्यक्ष ओलीको जिकिर छ ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कमजोर र धरासायी भइसकेको बताउँदै एमाले अध्यक्ष ओलीले देश विकासको लक्ष्य र अवधारणा आफ्नो पार्टीसँग मात्रै रहेको बताए ।

गृह जिल्लामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज अपराह्न झापा आइपुगेका हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार ००:००  ९ : ३९ बजे