१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

झापा गाउँपालिकामा विपन्नका लागि छ सय घर निर्माण




बिर्तामोड-त्रिपक्षीय साझेदारीमा तीनवर्षभित्र झापा गाउँपालिकामा विपन्न समुदायका लागि ६०३ वटा आवास निर्माण गरिएको छ । सहारा नेपाल, ह्याविट्याट नेपाल र झापा गाउँपालिकाको सहयोगमा ती घर बनेका हुन् ।

सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत ती घर निर्माण भएको सुरक्षित आवास कार्यक्रमका टीम लिडर टीकाप्रसाद कँडेलले बताए ।

‘विपन्न बर्गका लागि सुरक्षित र बलियो आवास निर्माण परियोजनाको उद्देश्य हो’, कँडेलले भने, ‘गरिबीको रेखामुनि रहेका नागरिक हाम्रो प्राथमिकतामा छन् ।’

परियोजनाले सुकुम्बासी, पिछाडिएको बर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गर्दै आएको छ ।

सुरक्षित आवासका लागि पालिकास्तरीय परियोजना सल्लाहकार समितिको कुमरखोदमा आइतवार भएको अन्तरक्रियामा सहभागीहरुले विपन्नका लागि अझै आवासको खाँचो रहेको औँल्याएका छन् ।

गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपालका संरक्षक डिल्लीराम सिटौला, ह्याविट्याट नेपालका सिनियर अप्रेसन मेनेजर रामसिंह दनुवार लगायतले धारणा राखेका छन् ।

सहारा नेपालका लेखा अधिकृत राजु गिरीका अनुसार सन् २००७ देखि ह्याविट्याट र सहाराले साझेदारीमा काम गर्दै आएका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण गर्दै आएको गिरीले जानकारी दिए ।

कार्यक्रममा सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना, कोषाध्यक्ष श्यामकुमार प्रधान, सदस्य प्रेमप्रसाद उप्रेती र कमला थपलिया लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार ००:००  ९ : १२ बजे