१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बालमैत्री तह निर्माण गर्न झापाका स्थानीय तह सहमत




झापा- बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका स्थानीय तहले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले सरकारको लक्ष्यअगावै बालमैत्री स्थानीय तह निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ“÷नगरपालिकाको वडालाई दिएको छ । त्यसैका अधारमा जिल्ला बाल सञ्जाल झापाले बालमैत्री स्थानीय तह निर्माण गर्न अनुरोध गर्दै आएको छ ।

जिल्ला समन्वय समिति, संवाद समूह झापा र राष्ट्रिय बाल अधिकार परिषद विराटनगरको सहकार्यमा कार्यक्रम भएको कार्यक्रममा जिसस प्रमुख विश्व बरालले पालिकाहरुलाई बालमैत्री स्थानीय तह निर्माणमा जुट्न आग्रह गरेका छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले भद्रपुरमा घोषणा गरिएको बालमैत्री स्थानीय तहको अनुभव राखेका थिए । जिल्ला बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भावना पोखरेलले जिल्लामा वालवालिकाले भोगेका समस्या र अवस्थाबारे जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार ००:००  ६ : ५४ बजे