१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘पालिका सन्देश डट कम’ तेस्रो बर्षमा



बुद्धशान्ति- ‘पालिका सन्देश डट कम’ तेस्रो बर्षमा प्रवेश गरेको छ । पीएसटी नेपाल मिडिया प्रालिद्धारा सञ्चालित अनलाइन न्यूज पोर्टलले दोस्रो बर्ष पूरा गरेको हो ।

वर्ष प्रवेशको अवसरमा बुद्धशान्तिमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य तथा बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेले पालिका सन्देशले संवेदनशील भएर समाचार सामग्री प्रस्तुत गरेको बताए ।

‘सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्नुअघिनै त्यसले समाजमा पार्ने प्रभावबारे बुझ्न आवश्यक हुन्छ, सो विषयमा पालिका सन्देशले उदाहरण पेश गरिरहेको छ’, उनले भने ।

बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार गंगाराम गड्तौलाले छोटो समयमा यो अनलाइन न्यूज पोर्टल स्थापित अनलाइनका रुपमा चिनिएको भन्दै शुभकामना दिए । उनले पालिका सन्देशले स्थानीय समाचारलाई प्राथमिकता दिंदै मौलिक ढंगबाट समाचार प्रेषित गर्दै आएकोमा खुसी व्यक्त गरेका छन् ।

डिजिटल अनलाइन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको मिडिया हाउसका अध्यक्ष सुरज दंगालले बताए ।

उनले धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमा दुई बर्षको यात्रा सफल हुनुका पछाडि आमपाठक, विज्ञापनज्ञाता र शुभेच्छुकको अतुलनीय योगदान रहेको बताए ।

अनलाइनका प्रधान सम्पादक बिष्णुप्रसाद लामिछानेले अनलाइन पत्रिकाले स्थापना कालदेखि सत्यतथ्य र सन्तुलित समाचार प्रकाशन गर्दै आएको बताए । उनले अनलाइन पत्रिकाले सधैँ स्थानीय तहको सञ्चार सारथीको भूमिकामा कलम चलाउँदै आइरहेको बताए ।

अनलाइनका सम्पादक तीर्थ तिम्सिना भन्छन्, ‘दोस्रो वर्ष पूरा भएको सन्दर्भमा उत्साहित बनेका छौं। पाठकको साथ र सहयोगबिना हामी कहिल्यै पनि पूर्ण हुन सक्दैनौ ।’

बुधबारेको तेन्जिङ नोर्गे होम स्टेको सभाहलमा आयोजित कार्यक्रममा पत्रिकाले नव वर्ष २०७९ सालको शुभकामना आदानप्रदान गर्दै भित्ते पात्रो समेत बिमोचन गरेको छ ।

कार्यक्रममा बुद्धशान्ति प्रेस क्लबका उपाध्यक्ष आयुस निरौला, बुद्धशान्ति साप्ताहिकका सम्पादक रोसन भट्टराई, टाइम्स पब्लिकेशन झापाका प्रमुख जनार्दन खतिवडा, पत्रकार नारायण अर्याल, बिष्णु श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन गोकुल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ९ : १३ बजे