१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बिर्तामोडमा ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ को तयारी




बिर्तामोड– नेपाल इङ्लिस टीचर्स एशोसिएसन (नेल्टा) झापाको आयोजनामा अङ्ग्रेजी विषय अध्यापनरत महिला शिक्षकको सम्मेलन हुने भएको छ । झापाको बिर्तामोडमा मंसिर २३ र २४ गतका लागि सम्मेलन आयोजना गरिएको हो ।

नेल्टा झापाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जनाएको छ । नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन २०२२’ को तयारी भइरहेको बताए । उनका अनुसार सम्भवत नेपालमा महिला शिक्षकका लागि यो पहिलो कार्यक्रम हो ।

‘महिला शिक्षकलाई उत्प्रेरणा जगाउने, नेतृत्व विकासमा सघाउने र प्रविधिमा आधारित अध्ययन विधिका विषयमा जानकारी गराउने कार्यक्रमको मुख्य उद्देश्य हो’, पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले भने ।

नेल्टा झापाका सचिव टीकाप्रसाद सुवेदीका अनुसार सम्मेलनमा सातजना विषयविज्ञले सहजीकरण गर्ने छन् । नेपालका पाँच र अमेरिकाका दुई गरी सातजना विज्ञले कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् ।

सम्मेलनमा नेल्टाकी केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा, सल्लाहकार हेमन्तराज दाहाल, प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षाविज्ञ वैशाली प्रधान र टोस्ट मास्टर्स क्लवकी अध्यक्ष एञ्जिला विष्ट सहभागी हुनेछन् ।

सम्मेलनमा झापाका सरकारी तथा निजी विद्यालयमा अध्यापनरत तीनसय भन्दाबढी महिला अङ्ग्रेजी शिक्षकको सहभागिता रहने नेल्टा झापाका उपाध्यक्ष केशवप्रसाद मैनालीले बताए ।

‘महिला शिक्षक कमजोर भएर सम्मेलन आयोजना गरिएको होइन’, पत्रकार सम्मेलनमा उपाध्यक्ष मैनालीले भने, ‘उर्जा र उत्प्रेरणाका हिसावले यो कार्यक्रम फलदायी हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

यसअघि नेल्टा झापाले विषयगत शिक्षकको व्यवसायिक सीप तथा क्षमताको विकासका लागि नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

व्यवसायिक दक्षता हासिल गर्दै शिक्षण अभ्यासमा प्रविधिको पहुँच बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने नेल्टा झापाका सदस्य केशव उप्रेतीको विश्वास छ ।

सम्मेलन व्यवस्थापनका लागि लागत सहभागिताको नीति नेल्टाले लिएको छ । जस अन्तरगत सहभागी शिक्षकले प्रतिदिन पाँचसय रुपैयाँका दरले प्रवेश शुल्क तिर्नु पर्नेछ ।

https://fb.watch/hdMqgnkPLY/

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ००:००  ८ : ४० बजे