१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाइजोमा मोटरसाइकल माग्दा…



झापा — मेचीनगर–१५ ज्यामिरगढीमा शुक्रबार बिहान मोटरसाइकल दाइजो माग्ने बेहुलालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले बेहुली लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

दाइजो माग्ने युवा झापा गाउँपालिकाको टाघनडुब्बाका डेबिड गनगाई हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनको केही महिनाअघि ती युवतीसँग फेसबुकबाट कुराकानी भएर प्रेम भएको थियो । महिनादिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । पारिवारिक सरसल्लाहमै विवाहको निधो भएको थियो ।

‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौँ भनेर प्रस्ट पारेका थियौँ, बेहुलाको परिवार मन्जुर भएको थियो,’ युवतीकी हजुरआमा रञ्जना राजवंशीले भनिन्, ‘तर, आज आएर मोटरसाइकल मागेपछि प्रहरीको जिम्मा लगाउनुपर्‍यो ।’

राजवंशीका अनुसार दाइजोबापत टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिइएको थियो । दुलाहाले त्यो सामग्री अपूग भएको भन्दै मोटरसाइकल मागे । ‘हामीले क्षमताअनुसार साइकलचाहिँ दिएका थियौँ,’ उनले भनिन्, साइकलले नहुने रे !’

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ३ : ०१ बजे