८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

घोषित एजेण्डामा एमालेका उमेद्वार प्रतिवद्ध



झापा– बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारले पार्टीले सार्वजनिक गरेको प्रतिवद्वता पत्रलाई अक्षरस पालना गर्ने बताएका छन् ।

नगर प्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्वता पत्र हबहु कार्यान्वयन गर्ने बताएकी हुन् ।

उनले आफ्नो ५ वर्षको कार्यकालमा सशक्त ढंगले प्रतिवद्वता पुरा गर्ने बताइन् । प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटिएको बताउँदै उनले एक पटक पढ्न सबैलाई आग्रहसमेत गरिन् ।

नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा उल्लेख गरिएका योजनाहरु अक्षरस पालना गर्दै कार्यान्वयन गरिने बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, पर्यटन, भौतिक पुर्वाधार, व्यवसाय, खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनालाई प्रतिवद्वता पत्रमा समेटिएको भन्दै कार्यान्वयन गरिने बताए ।

बिर्तामोडमा गठवन्धन दलभन्दा बलियो देखिएको नेकपा एमालेका उम्मेदवारले नगरका सबै टोलमा पुगेर यसअघि एमाले सरकारले नगरमा गरेका काम र भावी योजनाका बारेमा जानकारी गराउँदै आएका छन् । नेकपा एमालेले आइतबार वडा नम्बर ८ का गरामनी, हर्चना, नेपाल चोक लगायतका स्थानमा कोणसभा सम्पन्न गरेको छ । कोणसभामा एक हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

कोणसभामा हाँस्यकलाकार विल्सन विक्रम राईकोसमेत सहभागिता रहेको थियो । उनले विकास र समृद्विको लागि नेकपा एमालेका उम्मेदवारलाई भारीमतले विजयी गराउन सबैसंग आग्रह गरेका छन् । बिर्तामोड–८ मा विष्णुप्रसाद भट्टराई वडाध्यक्षको उम्मेदवार छन् ।

वडा नम्बर ८ को कोणसभामा एमाले झापा इञ्चार्ज अग्नि खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले प्रदेश १ कमिटी इञ्चार्ज देवराज घिमिरे लगायतका नेताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ८ : ५८ बजे