- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बिर्तामोड- झापाको विभिन्न स्थानीय तहमा नगरको प्रमुख बन्ने सपना देखेर उमेद्वारी दिएका कतिपय उमेद्वार आफूले दुई सय मत पनि पाउन नसक्दा खिन्न छन् । उनीहरुलाई आफ्नै उमेद्वारीले गिज्याएको छ ।
जनताको बीचमा बसेर काम नगर्ने तर निर्वाचनका बेला जित्छु भन्दै हिँड्ने उमेद्वारलाई जनताले फेरि दोहोरिएर निर्वाचनमा उठ्न नसक्ने गरी अस्वीकृत गरेका हुन् । निर्वाचन आयोगको तथ्याङ्कका आधारमा यहाँ तिनै उमेद्वार र सम्वद्ध पार्टीका विषयमा चर्चा गरिएको छ ।
कनकाई नगरपालिका– कनकाईमा नगर प्रमुखमा उमेद्वारी दिएका विवेकशील साझा पार्टीका भीमप्रसाद अधिकारी पुराना राजनीतिकर्मी हुन् ।
एमाले राजनीतिको पृष्ठभूमिबाट विवेकशील साझा पार्टीमा प्रवेश गरेका ६६ वर्षीय अधिकारीले यस पटकको स्थानीय तह निर्वाचनमा दुई सय मत पनि कटाउन सकेनन् ।
अधिकारीले १८४ मतमा चित्त बुझाउनु परेको छ । ‘लाजै हुने गरीको मत परिणाम अधिकारीले पाउनु भयो’, विवेकशीलका स्थानीय एकजना कार्यकर्ताले भने, ‘उहाँको मत देखेर हामी पनि आश्चर्यचकित भएका छौँ ।’
अधिकारी मात्रै होइन, मौलिक जरोकिलो पार्टीकी ४३ वर्षीया टंका उप्रेतीको हालत झन् दयनीय छ । नगर प्रमुखकी उमेद्वार उप्रेतीले २० मत पाएकी छन् । स्वतन्त्रबाट नगर प्रमुख बन्ने सपना देखेका ५२ वर्षीय देवीप्रसाद उप्रेती ११ मतमा सीमित भएका छन् ।
गौरादह– पश्चिमी झापाको गौरादह नगरपालिकामा पनि प्रमुख बन्नेको लर्काे थियो । तर, उनीहरुले भन्न लाज हुने गरी मत पाएका छन् । जनमत पार्टीका नारायण राजवंशीले ८३ मत पाए । एकीकृत नेकपा समाजवादीका खगेन्द्रप्रसाद दाहालले ४२ मत ल्याए ।
उन्नत लोकतन्त्र पार्टीका मिलन श्रेष्ठले १६ मत पाइरहँदा स्वतन्त्र उमेद्वार राधिका धमलाले ७ मत पाइन् । अर्का स्वतन्त्र उमेद्वार सोमनाथ घिमिरले ४ मत पाए ।
इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेती, जो स्वतन्त्र उमेद्वार थिए, उनीहरुले एक मत पनि पाएनन् । सायद उनीहरु आफैँले हालेको मत बदर भयो ।
दमक– दमक नगरपालिकामा प्रमुखमा आकांक्षीको ठूलो भीड थियो । ठूला दलका ठूला उमेद्वारको रस्साकस्सी हेर्न लायक भइरहेका बेला साना दलका दर्जन उमेद्वार मैदानमा उत्रिए ।
नेपाली जनता दलका राम प्रसाद तिम्सिनाले ११० मत ल्याए । जनता समाजवादी पार्टी, नेपालका पवन विष्टको १०५ मत आयो । स्वतन्त्र उमेद्वार वीर सिंह धिमालले ९९ पाए ।
मंगोल नेशनल अर्गनाइजेसनका दीपेशकुमार राईले ९२ मतमा चित्त बुझाउनु पर्ने अवस्था आयो । उन्नत लोकतन्त्र पार्टीका दीपेन्द्र पौडेल ४९ मतमा सीमित भए ।
विवेकशील साझा पार्टीका रेवतचन्द्र भण्डारीले ३५ कटाउन सकेनन् । अर्का स्वतन्त्र उमेद्वार कमल पराजुलीले ३३ मत पाए । मौलिक जरोकिलो पार्टीका राजकुमार दाहालको २५ आयो ।
किरात खम्बुवान साझा पार्टीका देउकुमार राईले ९ मतमा चित्त बुझाउनु पर्ने अवस्था आयो । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कृष्ण राय र स्वतन्त्र उमेद्वार नेत्रजंग थापाले बराबरी ६ मत ल्याए ।
स्वतन्त्रका तर्फबाट नीलकण्ठ सापकोटाले ५ मत र कृष्ण खनालले ३ मत कटाउन सकेनन् ।
भद्रपुर– नगर प्रमुखमा उमेद्वारी दिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कर्मकारले ३४ मत कटाउन सकेनन् । मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ मत मात्रै पाए । दुबै उमेद्वारको जनमत दयनीय देखियो ।
मेचीनगर– मेचीनगरको प्रमुख बन्ने सपना देखेका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लवनसिंह धिमालले १९१ मत पाएका छन् । स्वतन्त्र दुई उमेद्वार राम कुमार बुडाथोकी र बिजयकुमार अधिकारीले क्रमश ४२ र ४० मतमा चित्त बुझाउनु पर्र्याे ।
नेपाल कम्युनिष्ट पार्टीका भरोसादास पौडेलले ३९ मत पाए । हिरा वाँस्तोला जो मौलिक जरोकिलो पार्टीकी उमेद्वार थिइन्, उनले १४ मत प्राप्त गरिन् ।
बिर्तामोड– व्यापारिक सहर बिर्तामोडमा पनि नगर प्रमुख बन्ने आकांक्षीको भीड देखियो । तर कतिपय उमेद्वारले दुई सय मत पनि कटाउन सकेनन् । त्यसमध्येका एक हुन् उदय गुरुङ । जनता समाजवादी पार्टीका उमेद्वार गुरुङले १७९ मत ल्याए ।
मौलिक जरोकलिो पार्टीका प्रज्वल अधिकारीको अवस्था पनि दयनीय देखियो । उनका एजेण्डालाई बिर्तामोड नगरबासीले पत्याएनन, अन्तत अधिकारीले ९९ मतमा सीमित हुनु पर्ने अवस्था आयो ।
स्वतन्त्र उमेद्वार नगेन्द्र अधिकारी चुनाव नजिते पनि राम्रै मत आउला भन्ने आशामा थिए । मतदाताले उनलाई हदैसम्म निराश बनाइदिए । उनले ३८ मत कटाउन सकेनन् ।
आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट ४५ वर्षीय मनकुमार खुदाङ लिम्बु उमेद्वार थिए । उनले २२ मत भन्दाबढी ल्याउन सकेनन् ।
नेपाल परिवार दलका उमेद्वार केदार ढुङ्गानाले पनि अरुको जस्तै नियति व्यहोर्नु पर्यो । ४६ वर्षीय ढुङ्गानाले १० मत पाए । नेपाल लोकतान्त्रिक पार्टीका अञ्चल धिमाललाई पनि जनताले पत्याएनन् । त्यसका बाबजुद उनले ६ मत पाए ।
शिवसताक्षी– देवीकुमार शेर्मा जो राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबात शिवसताक्षीमा मेयरका उमेद्वार थिए । तर, उनले १४५ मत भन्दाबढी पाउन सकेनन् । मौलिक जरोकिलो पार्टीका उमाकान्त सिटौलाले पनि अपेक्षाकृत मत पाउन सकेनन् । उनको २६ मत आयो ।
स्वतन्त्र उमेद्वार योगमणि अधिकारीलाई फेरि उठन नसक्ने गरी जनताले अस्वीकृत गरिदिए । उनले चार मत कटाउन सकेनन् ।