१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

एमालेले जित्यो अर्जुनधारामा मेयर र उपमेयर




झापा– नेकपा एमालेले झापाको अर्जुनधारा नगरपालिकामा फराकिलो मत अन्तरले मेयर र उपमेयर जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनको विरासत कायम राख्दै एमालेले कार्यकारी नेतृत्वका दुबै पदमा बिजय हासिल गरेको हो ।

शनिवार घोषित मत परिणाम अनुसार मेयरमा एमाले उमेद्वार बलदेव गोम्देन बिजयी भएका छन् । यसअघि वडा नम्वर–१० का अध्यक्ष रहेका गोम्देन नेपाली काङ्ग्रेसका उमेद्वार रञ्जिता कार्कीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

कार्कीलाई ५,४२६ मत अन्तरले पराजित गर्दै गोम्देनले मेयरको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् । लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका गोम्देन लामो समयदेखि एमालेको राजनीतिमा संलग्न छन् ।

निर्वाचन कार्यालयका अनुसार गोम्देनले १९,१६९ मत प्राप्त गरिरहँदा काङ्ग्रेस उमेद्वार कार्कीले १३,७४३ मतमा चित्त बुझाउनु परेको छ । कानुन व्यवसायीको पृष्ठभूमिबाट एकाएक काङ्ग्रेसको राजनीतिमा सक्रिय भएकी कार्की मतदातासँग पूर्ण परिचित नहुँदा हार व्यहोर्न बाध्य भएकी हुन् ।

‘हाम्रै पार्टीको उमेद्वार भए पनि हामीले यसअघि उनको नाम सुनेका थिएनौँ’, एक स्थानीय काङ्ग्रेस कार्यकर्ताले भने, ‘म जस्ता संगठित सदस्यले भोट दिए पनि धेरै शुभेच्छुकले कार्कीलाई भोटै हालेनन् ।’

कार्कीको तुलनामा गोम्देन स्थानीय क्षेत्रमा भिजेका र लोकप्रिय जनप्रतिनिधि भएका कारण उनको पक्षमा मत खसेको हो । वडा तहमा काङ्ग्रेसले मत पाइरहँदा मेयर उपमेयरको मत भने एमाले उमेद्वारले पाएका छन् ।

प्राप्त मत परिणामले पनि यसको पुष्टि गरेको ती काङ्ग्रेस कार्यकर्ताले बताए । ‘काङ्ग्रेसको बलियो जनाधार, त्यसमाथि पाँचदलीय गठबन्धन हुँदा पनि अपरिचित अनुहार ल्याएर उमेद्वार बनाइएकाले मतदाताले रुचाएनन्’, ती कार्यकर्ताले भने ।

उपमेयरमा खड्गमाया पराजुली निर्वाचित भएकी छन् । पाँच दलीय गठबन्धनबाट उमेद्वार भएका नेकपा माओवादी केन्द्रका जितेन योञ्जनलाई झण्डै दोब्बर मतले पराजित गर्दै पराजुली उपमेयर भएकी हुन् । एमाले उमेद्वार पराजुलीले १७,६३७ मत प्राप्त गरिरहँदा योञ्जनको पक्षमा ९०७१ मत खसेको छ ।

राप्रपाका मेयर र उपमेयरका उमेद्वार क्रमश सूर्यकुमार खतिवडा र तारादेवी बस्नेतले १६०८ र २४७० मत पाएका छन् । सङ्गठन विस्तारको चरणामा रहेको राप्रपाले अपेक्षा गरेकोभन्दा कम मत पाएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ००:००  ८ : ३६ बजे