१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बिर्तामोडसहित तीनवटा नगरपालिका बायोग्याँस उत्पादनमा साझेदारी गर्न तयार



सुब्रत न्यौपाने झापा– फोहोर प्रशोधन गरी बायोग्याँस उत्पादन गर्ने विषयमा बिर्तामोडसहित तीनवटा नगरपालिकाबीच सहमति जुटेको छ ।

झापाको कनकाई र अर्जुनधारा नगरपालिका समेतको सहभागितामा वायोग्याँस उत्पादन गर्ने विषयमा नवनिर्वाचित जनप्रतिनिधिबीच सहमति जुटेको हो ।

तीनवटा नगरपालिकाको बराबर लगानी र सहभागिताका आधारमा बायोग्याँस उत्पादनमा साझेदारी गर्ने सहमति जुटेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताउनुभयो ।

‘समान लगानी र सहभागिताको अवधारणा अनुरुप तीनवटै स्थानीय तह फोहोर व्यवस्थापनका लागि साझा सहमतिमा पुगेका छन्’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।

कनकाई नगरपालिकामा निर्माणाधीन कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनी लिमिटेडमार्फत फोहोर प्रशोधन गरी बायोग्याँस उत्पादन गर्ने प्रक्रिया अन्तिम चरणमा छ ।

जनसहभागिता समेतको आधारमा अगाडि बढाइएको बायोग्याँस प्लान्ट सम्वन्धी परियोजनामा साझेदारी गर्न आफूहरु तयार भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले बताउनु भयो ।

फोहोर प्रशोधन गरी बायोग्याँस उत्पादन गर्ने र पाइप लाइनमार्फत घर–घरमा बितरण गर्ने योजनाका साथ अगाडि बढेको प्लान्टको पछिल्लो अवस्थाका विषयमा यसैसाता तीनवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले स्थलगत अनुगमन गरेका थिए । अनुगमनपछि प्लान्ट सञ्चालनको स्रोत व्यवस्थापनका विषयमा छलफल थालिएको थियो ।

सहमति अनुसार कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनी लिमिटेडमा तीनवटा नगरपालिकाले एक करोड ७५ लाख रुपैयाँका दरले शेयर लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो ।

कम्पनीको सञ्चालक समिति सात सदस्यीय हुनेछ । त्यसमा तीनवटा नगरपालिकाका प्रतिनिधि एक जनाका दरले रहने छन् । बाँकी चारजना कम्पनीका तर्फबाट हुनेछन् ।

‘नगरपालिका क्षेत्रबाट निस्किने कुहिने र नकुिहने दुवै फोहोर व्यवस्थापनको जिम्मा कम्पनीले लिन्छ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो ।

फोहोर व्यवस्थापन टाउको दुखाईको विषय भइरहेका बेला बायोग्याँस उत्पादन गरी त्यसलाई घर–घरमा बितरण गर्ने योजना अघि बढेको हो ।

फोहोरको दीगो व्यवस्थापनको उपाय स्वरुप बायोग्याँस उत्पादनको अवधारणा अघि सारिएको कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनी लिमिटेडका सञ्चालक सुवास भट्टराईले बताउनु भयो ।

‘बायोग्याँस प्लान्ट पूरा भएपछि दैनिक कम्तीमा एक हजारदेखि १५ सय किलो ग्याँस उत्पादन हुन्छ’, सञ्चालक भट्टराईले भन्नुभयो ।

बायो ग्याँसको डाइजेस्टरमार्फत निस्किएको लेदोलाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्न सकिन्छ । यसबाट कम्पनीले दोहोरो लाभ लिन सक्छ ।

किसानले उचित मूल्यमा प्राङगारिक मल पाउनेछन् । उत्पादन भएको ग्याँस स्थानीय नौ सय घरधुरीमा पाइप लाइनमार्फत बितरण गर्ने योजना बनाइएको छ ।

४० टन क्षमताको बायोग्याँस प्लान्टका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाँच करोड ४६ लाख रुपैयाँ दिएको छ । सर्वसाधारणले शेयरमार्फत दुई करोड रुपैयाँ जुटाइसकेका छन् ।

बायोग्याँस प्लान्टमा झण्डै १३ करोड रुपैयाँ खर्च भइसकेको छ । १८ करोड रुपैयाँको लागतमा सम्पन्न हुने प्लान्टका लागि यसअघि कनकाईले ६२ लाख र अर्जुनधाराले ३० लाख रुपैयाँ दिएका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार ००:००  १२ : ०३ बजे