२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

बिर्तामाेडमा विमल गिरीकाे मुक्तक सङ्ग्रह ‘अजम्बरी’ काे विमाेचन



बिर्तामाेड-साहित्यकार विमल गिरीको ‘अजम्बरी’ मुक्तक सङ्ग्रहकाे साेमबार गृह विमाेचन गरिएको छ । साहित्य चौतारीका सल्लाहकार हरिनारायण भट्टराईले प्रमुख अतिथिका रूपमा मुक्तक सङ्ग्रह विमाेचन गरेका हुन् ।

बेल्जियममा बस्दै आएका झापाली स्रष्टा गिरीको यो सातौँ कृति हो । साहित्य चाैतारी झापाको आयाेजनामा भएको कार्यक्रम राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे पाँचाै स्मृति दिवसकाे अवसर पारेर गरिएको हो ।

साहित्य चाैतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतकाे आतिथ्य रहेको थियो ।

साहित्यकार विवश बलिभद्र कोइरालाले मुक्तक संग्रहकाे समीक्षा गरेका छन् । कार्यक्रममा कार्यक्रम संयोजक साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा साहित्य चौतारीका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले मुक्तककार गिरीको परिचय प्रस्तुत गरेका थिए । झापा बिर्तामोड-२ निवासी गिरी बेल्जियमको राजधानी ब्रसेल्समा रहेर निरन्तर नेपाली भाषा र साहित्यको विकासमा सक्रिय छन् ।

सानैदेखि साहित्य साधनमा लागेका गिरी लेखन शील्पका अब्बल प्रतिभा हुन् । गिरीको पहिलो कृति गीति एल्बम उपासना २०६५ सालमा प्रकाशित भएको थियो ।

दोश्रो कृति २०६६ सालमा गीति संग्रह ‘सम्झनाका तरेलीहरु’ तेश्रो कृति २०६८ सालमा मुक्तक संग्रह ‘गोधुली मन’ चौथो कृति २०७२ सालमा मुक्तक संग्रह ‘स्पन्दनका छालहरु’, पाँचौं कृति २०७३ सालमा हाइकु संग्रह ‘विभाजित मन’ र छैटौं कृति २०७९ सालमा हाइकु संग्रह ‘सुनाखरी’ गिरीका प्रकाशित पुस्तक हुन् ।

कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक श्रेष्ठले मुक्तककार गिरीले आफ्नो सातौं कृति अजम्बरी मुक्तक संग्रह साहित्य चौतारीको सभाहलमा बिमोचन गराएकोमा खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा सर्जकहरू मदन भण्डारी, भिजन गुरागाई, प्रशान्त वाग्लेले मुक्तककार गिरीको मुक्तक संग्रहबाट मुक्तक बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य सुनिता तामाङले गरेकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ००:००  १२ : ३३ बजे