बिर्तामोड-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभारतमा अर्जुनले बाँण हान्ने बेलामा चराको आँखा देखेजस्तो अरु सबै विषय छोडेर मिसन ८४ को तयारीमा लाग्न एमालेका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा एमाले झापाको ११औँ जिल्ला अधिवेशनलाई बिहीबार झापाको बिर्तामोडमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको एक मात्र लक्ष्य २०८४ को चुनाव भएको बताउनुभयो ।
गृहमन्त्री रवि लामिछानेको विषयमा नेपाली कांग्रेसले दोहोरो चरित्र प्रस्तुत गरेको जिकिर गर्दै एमाले अध्यक्ष ओलीले यस्तो राजनीतिक व्यवहार लाेकतन्त्रमा लाजकाे विषय भएको बताउनु भयो ।
बिहान बेलुका डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गर्ने र दिउँसो सदनमा केही गृहमन्त्रीको विरोध गर्ने कांग्रेसको कार्यशैली बुझिनसक्नुभएको एमाले अध्यक्ष ओलीले बताउनुभयो ।
नेकपा एमालेलाई मुलुकको निर्विकल्प राजनीतिक शक्तिको रूपमा लिएर जाने बेला आएको बताउँदै एमाले अध्यक्ष ओलीले विकास, शान्ति र राजनीतिक स्थायित्व एमालेबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।
निषेधको राजनीतिबाट माथि उठ्नुपर्ने बेला आएको बताउँदै मुलुकको विकासका लागि सहकार्य र सह अस्तित्वको अवधारणाबाट अगाडि बढ्नुपर्ने पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको धारणा छ ।
नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धनलाई नालायकको संज्ञा दिँदै एमाले अध्यक्ष ओलीले अहिले नयाँ राजनीतिक समीकरण बनेको बताउनुभयो ।
हिजोको गठबन्धन एमाले विरुद्ध लक्षित रहेको बताउँदै अहिलेको राजनीतिक समीकरण कोही कसैप्रति लक्षित नभएको अध्यक्ष ओलीको जिकिर छ ।
अर्को एक प्रसङ्गमा एमाले अध्यक्ष ओलीले इलामको उपनिर्वाचनमा माओवादी केन्द्रले समेत एमालेका उम्मेदवारलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।

















