१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

निर्वाचन आयोगले बाबुरामलाई कारबाही गर्ला ?



झापा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदानको मत संकेत सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तस्बिरमा भट्टराईले जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव चिन्ह ‘छाता’ मा मत दिएको देखिएको छ । जसमध्ये उनले नगर उपप्रमुखबाहेकका जसपाका उम्मेदवारलाई मत दिएका छन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।

त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ। तर, डा. भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

भट्टराईले गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका–१ मा रहेको अन्नपूर्ण मावि मतदान स्थलमा मतदान गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बिहान ८ बजेर २५ मिनेट जाँदा मतदान गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ००:००  ९ : ४५ बजे