१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

झापामा यति अनौठो गठबन्धन !



बिर्तामोड– १५ वटा पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् ।

कचनकबलमा कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका छन् । यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

‘अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो,’ प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्छन्, ‘स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो ।’

कचनकबलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार छन् ।

दुवै उम्मेदवार संयुक्तरूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन् । सो पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार छन् ।

यसैगरी कनकाई नगरपालिकामा कांग्रेस र एमाले बाहेकका दलको चुनावी गठबन्धन बनेको छ । कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् । ०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईं विजयी भएका थिए । एमालेले दुवैलाई सोही पदमा दोहोर्याएको छ ।

कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाए ।

थापाको गठबन्धनमा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ । गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार छन् ।

विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस्तै दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बृहत् गठबन्धन बनेको छ ।

एमाले एक्लै चुनावी मैदानमा छ। दमकमा नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार छन् ।

एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । राप्रपा सहितको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र संलग्न छ । जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ११ : ०८ बजे