६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कचनकवलः राप्रपाविरुद्ध कांग्रेस–एमाले



झापा– कचनकवल गाउँपालिकामा २०७४ को निर्वाचनमा राप्रपा उम्मेदवार अञ्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका थिए । उपाध्यक्षमा पनि राप्रपाकै निमसरी राजवंशी ५ हजार ७ सय ७४ मत प्राप्तगरी विजयी भएकी थिइन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कलेन्द्रप्रसादसिंह राजवंशीले यहाँ ५ हजार ३ सय ७३ मत प्राप्त गरेका थिए । तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मदेवार शेरबहादुर खत्रीको ३ हजार ९ सय ७२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका हंशनारायणसिंह राजवंशीको मत १ हजार २ सय ५० थियो ।

अहिले भने सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले गठबन्धनबाहिरका दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि कचनकबलमा भने उसले प्रमुख प्रतिपक्षी एमालेसँग नै तालमेल गरेको छ । कांग्रेस–एमाले गठबन्धनबाट यहाँ २०७४ मा पराजित कांग्रेस उम्मेदवार कलेन्द्रप्रसाद राजवंशी नै उम्मेदवार बनेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा यहाँ माओवादी केन्द्र चौथो शक्ति हो ।

सत्ता गठबन्धनको केन्द्रीय नीति विपरीत कांग्रेसले यहाँ एमालेसँग तालमेल गरेपछि आफ्नो स्थिति मजबुत बनाउन यहाँ राप्रपाले माओवादी केन्द्रसँग तालमेल गर्दा उसको स्थिति केही सुदृढ हुने थियो । तर, कांग्रेस–एमालेको गठबन्धनविरुद्ध यहाँ राप्रपा र माओवादी केन्द्रबीच तालमेल हुन सकेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेविरुद्ध राप्रपा नेतृत्वको गठबन्धनमा कांग्रेससँगै रहेको माओवादी केन्द्र कचनकबलमा भने राप्रपा र कांग्रेस–एमाले गठबन्धनसँग एक्लै भिड्नुपर्ने बाध्यतामा छ ।

राष्ट्रिय राजनीतिका पहिलो र दोस्रो ठूलो दल गठबन्धन बनाएर उत्रिएपछि राप्रपामाथि चुनौती थपिने नै भयो । अझ २०७४ को निर्वाचनमा अध्यक्षतर्फ यो गाउँपालिकामा कांग्रेस–एमालेले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यसपटक राप्रपाले यहाँ विजय हासिल गर्ने कुनै सम्भावना देखिँदैन ।

त्यो निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारको मतको जोड्दा ९ हजार ३ सय ४५ हुन आउँछ, जुन विजेता राप्रपाका आलमले प्राप्त गरेको भन्दा ३ हजार ५ सय २९ बढी हो । तर, जसरी पनि जीत निकाल्ने योजनाका साथ राप्रपा चुनावी मैदानमा छ ।

कचनकबल राप्रपाले प्रमुख–उपप्रमुख दुवै पदमा विजय हासिल गरेका दुईमध्ये एक गाउँपालिका मात्र होइन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र (झापा–३) अन्तर्गतको स्थानीय तह पनि हो । खासमा लिङ्देनको निर्वाचन क्षेत्र भएकाले पनि यहाँ कांग्रेस–एमालेले राप्रपाविरुद्ध तालमेल गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ००:००  १० : ०९ बजे