१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

परिवारको पीडा : ‘पैसा छैन्, कसरी फेर्नु मिर्गाैला ?



एकातिर विरामीको जटिल अवस्था । अर्कोतिर तत्काल आर्थिक अभाव । यी दुई समस्याले झापा बिर्तामोड–४ की सीता उप्रेती कुँवरलाई पिरोलेको झण्डै नौ महिना भयो । यसको एउटै कारण हो, सीताका श्रीमान् ४३ वर्षीय दीपेन्द्र उप्रेती लामो समयदेखि बिरामी छन् । मिर्गौलामा समस्या देखिएपछि उप्रेतीको नियमित डाइलोसिस भइरहेको छ ।

डाक्टरले मिर्गौला फेर्नु पर्ने बताएपछि सीता थप तनावमा छिन् । एमालेको राजनीतिमा लामो समयदेखि सक्रिय भएकी सीताका अघिल्तिर किड्नी ट्रान्सप्लान्टका लागि चाहिने रकम कसरी जुटाउने भन्ने चिन्ता छ । चिकित्सकका अनुसार सामान्यतया किड्नी ट्रान्सप्लान्टका लागि अनेकौँ प्रक्रिया पूरा गर्नु पर्छ । ती प्रक्रिया पूरा गर्दा पनि ट्रान्सप्लान्ट सहज छैन् ।

किड्नी ट्रान्सप्लान्टको प्रक्रिया जसोतसो पूरा त भयो, तर आर्थिक अभावका कारण उनले थप उपचारको प्रक्रिया अघि बढाउन सकेकी छैनन् । एकातिर नेपालमा किड्नी ट्रान्सप्लान्ट सहज नहुने परिस्थितिका बीच दीपेन्द्रलाई भारतीय अस्पतालमा लैजानु पर्ने अवस्था छ । आउँदा जाँदा र लामो समय बस्नु पनि पर्ने भएकाले उपचार सहज र सजिलो छैन् । यसले खर्चको बोझ झन् थपिन्छ ।

पारिवारिक जटिलताका कारण भएको जायजेथा व्यवस्थापन गरेर रकम जुटाइहाल्ने परिस्थिति पनि तत्काल नरहेको सीता बताउँछिन् । ‘जतिसक्दो छिटो किड्नी ट्रान्सप्लान्ट गर्नु भन्ने डाक्टरको सल्लाह छ’, सीताले भनिन् ।

प्रारम्भिक उपचारका क्रममा झण्डै २८ लाख जति रकम सकिएको छ । थप रकम कसरी जुटाउने भन्ने समस्याले उनलाई पिरोलेको हो । ‘कम्तीमा पनि ३५ लाख खर्च हुन्छ भनेर डाक्टरले भनिरहेका छन्’, सीताले भनिन् । झापा र काठमाडौँका विभिन्न अस्पतालमा दीपेन्द्रको उपचार गरिएको हो ।

नौ महिनादेखि उपचार चलिरहेको छ । अहिले बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा उनको नियमित डाइलोसिस हुन्छ । सातामा दुई पटक गरी महिनामा आठपटक डाइलोसिस गर्नुपर्छ । ‘डाइलोसिस र औषधि गरेर मासिक ४० हजार खर्च भइरहेको छ’, सीताले भनिन् ।

श्रीमान्को उपचारबाहेक छोरीहरुको पढाई खर्च जुटाउनु पर्ने बाध्यता पनि सीताका अघिल्तिर छ । ठूली छोरी १७ र सानी छोरी आठ वर्षकी छन् । ‘घरमूली बिरामी हुँदा छोराछोरीको पढाईमा पनि समस्या पर्दोरहेछ, सीताको आफ्नै अनुभवले भन्छ’, ‘मलाई जस्तो समस्या अरु कसैलाई नपरोस् ।’

दीपेन्द्रलाई किड्नीको समस्या देखिएको लामो समय भयो । तर, नौ महिनायता निकै जटिलता देखियो । झण्डै सात महिना उनी बोल्न पनि सकेनन् । आफैँ बोली बन्द भयो । अहिले उनी विस्तारै हिँडडुल गर्न सक्छन् । बन्द भएको बोली पनि खुलेको छ । अहिले बोली बुझिन्छ पनि ।

‘विरामीको अवस्था सुध्रिदै जाँदा आशा हुँदोरहेछ’, सीता भन्छिन्, ‘तर, विरामीको उपचार पैसामा अड्किएपछि अहिले पहाडले थिचेजस्तो पीडा भोगिरहेकी छु ।’ मनमा अनेक पीडा बोकेर सीता श्रीमान्को उपचारमा जुटिरहेकी छन् । आफैँप्रतिको आशा र भरोसाले मात्रै कसरी थेग्ला र उनी आफैँसँग प्रश्न गर्छिन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार ००:००  ८ : ५६ बजे