१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सडक सुरक्षामाथि गम्भीर प्रश्न : टिपरको ठक्करबाट चार जनाको मृत्यु



झापा– झापामा टिपरको लापरवाहीले लगातार ज्यान लिन थालेपछि सडक सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । पछिल्लो नौ दिनभित्र टिपरको ठक्करबाट चार जनाको मृत्यु भएको छ । अधिकांश दुर्घटनामा पैदलयात्री र साइकल तथा स्कुटी चालक परेका छन् ।

सबैभन्दा पछिल्लो घटना बुधबार साँझ बिर्तामोड-३ बिर्ताबजारस्थित हटियालाइन-अधुवाखोला पुल नजिकको भित्री सडकमा भयो । रामचोकबाट भद्रपुरतर्फ गिट्टी बोकेर जाँदै गरेको मे १ क ६४३ नम्बरको टिपरले पैदल हिँडिरहेकी १० वर्षीया अनुकृति चापागाईँलाई ठक्कर दिएको थियो । उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यसअघि असार ९ गते दमक-३ बेलडाँगी बाङ्गेचोकमा मे १ क ८७९ नम्बरको मिक्सर टिपरले साइकलयात्री ८३ वर्षीय इन्द्रबहादुर भट्टराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो ।

असार ३ गते दमक-९ निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट ६० वर्षीय भीमबहादुर कार्कीको ज्यान गएको थियो । स्कुटीमा सवार कार्कीलाई ठक्कर दिएपछि टिपर चालक फरार भएका थिए । प्रहरीले पछि टिपर र चालकलाई नियन्त्रणमा लिएको थियो ।

त्यसको अघिल्लोराति, असार २ गते, गौरादह-१ नवदुर्गा पेट्रोल पम्प नजिकै प्र.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको थियो। उपचारका क्रममा उनको पनि मृत्यु भयो ।

लगातार भएका यी दुर्घटनाले झापामा टिपर सञ्चालनको अवस्था, चालकको लापरवाही र सडक सुरक्षासम्बन्धी सरकारी निगरानीमाथि प्रश्न खडा गरेको छ ।

विशेषगरी बालबालिका, पैदलयात्री र साइकल चालक नै बढी दुर्घटनाको सिकार बन्न थालेपछि टिपर सञ्चालनमा समय, गति र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने माग स्थानीयवासीले उठाएका छन् ।

केही दिनको अन्तरालमै चार जनाको ज्यान जाने गरी भएका दुर्घटनाले झापाका सडकमा टिपर आतंक बढ्दै गएको संकेत गरेको छ । दुर्घटना भएपछि मात्रै चालक पक्राउ गर्ने प्रवृत्तिभन्दा दुर्घटना हुनै नदिने प्रभावकारी नियमनतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ००:००  ११ : ३१ बजे