१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

युवा उद्यमीद्वारा व्यवसायिक राहत कोषमा १ लाख १६ हजार सहयोग



झापा– नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरले बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायिक सदस्य राहत कोष’मा १ लाख १६ हजार ६६६ रुपैयाँ सहयोग गरेको छ ।

मञ्चको शाखा कार्यालय उद्घाटन समारोहपछि आयोजित कार्यक्रममा अध्यक्ष गणेश पौडेलले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन ।

एक करोड रुपैयाँको लक्ष्यसहित २०८१ मा स्थापना गरिएको राहत कोषमा हालसम्म करिब ४० लाख रुपैयाँ संकलन भइसकेको संघका महासचिव कुशल खतिवडाले बताए । उनका अनुसार हालसम्म एनवाईइएफ झापा च्याप्टर सबैभन्दा बढी सहयोग गर्ने संस्था बनेको छ ।

कार्यक्रममा एनवाईइएफका संस्थापक अध्यक्ष प्रवेश वस्नेत, बोर्ड सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य निर्मल भट्टराईलगायतको उपस्थिति थियो । सहयोगदातालाई संघले कदरपत्रसहित सम्मान गरेको थियो ।

संघका अध्यक्ष न्यौपानेले संकटका बेला व्यवसायीलाई साथ दिने उद्देश्यले स्थापना गरिएको राहत कोषलाई लक्ष्यअनुसार एक करोड रुपैयाँ पुर्‍याउने अभियानलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ००:००  ८ : १३ बजे