१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

शिवसताक्षीमा युवालाई सीप उपहार



शिवसताक्षी-कफीको बास्नासँगै उद्यमशीलताको सुगन्ध फैलाउँदै र स्टेरिङ घुमाएर आत्मनिर्भरताको गति समात्ने अठोटका साथ झापाको शिवसताक्षी नगरपालिकामा एक विशेष अभियानको थालनी भएको छ ।

अपाङ्गता भएका परिवारका युवाहरूको जीवनमा सीप र अवसरको ढोका खोल्न नगरपालिकाले व्यावसायिक तालिमहरूको प्याकेज अघि सारेको हो।

यो प्रेरणादायी कार्यक्रम सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश), शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनबीचको त्रिपक्षीय साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना’ कार्यक्रमको एक हिस्सा हो ।

कफी बनाउने कलादेखि गाडी चलाउने सीपसम्म

दूधेस्थित ‘मिटअप क्याफे’को आधुनिक परिवेशमा १० जना युवाहरू कफी बनाउने व्यावसायिक कला (बारिष्टा तालिम) सिक्न तल्लीन छन् । नगर प्रमुख मेगाहाङ्ग थोप्राले तालिमको उद्घाटन गर्दै भन्नुभयो, “कफीको संस्कृति विश्वव्यापी रूपमा बढ्दो छ। यो सीपले स्वदेशमै आकर्षक रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्नेछ। हामी युवालाई विदेश होइन, स्वदेशमै सक्षम बनाउन चाहन्छौँ।”

दश दिनसम्म चल्ने यो तालिमले सहभागीको भविष्य उज्ज्वल बनाउने विश्वास गरिएको छ । यसैगरी, ४९ जना अपाङ्गता प्रभावित युवा-युवतीहरूलाई लक्षित गरी ड्राइभिङ तालिम पनि सुरु भएको छ ।

वडा नम्बर ८ का अध्यक्ष सन्त फेउदिनले उद्घाटन गर्नुभएको यो १५ दिने तालिमले उनीहरूलाई आत्मनिर्भरताको यात्रामा अघि बढ्न सशक्त बनाउने अपेक्षा छ।

“अनुशासन र सीप जीवनभरको सम्पत्ति”

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्ले सीपको महत्वमाथि प्रकाश पार्नु भयो। “तपाईंहरूले यहाँ सिक्ने सीप र अनुशासन नेपालमा मात्र होइन, विश्वको कुनै पनि कुनामा काम लाग्ने जीवनभरको सम्पत्ति हो,” उहाँले सहभागीहरूलाई हौसला प्रदान गर्नुभयो ।

नगरपालिकाका लेखा प्रमुख प्रकाश योङ्हाङ्ले तालिमपश्चात् सबै सहभागी स्वावलम्बी र सफल उद्यमी बन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भयो ।

अब अर्ग्यानिक उत्पादनको पालो

यो अभियान यतिमै सीमित छैन । भोलिदेखि नै पाँच दिने ‘अम्लिसो कुच्चो बाँध्ने’ र ‘अर्ग्यानिक साबुन बनाउने’ तालिम पनि सुरु हुँदैछ, जसले स्थानीय स्रोतको प्रयोग गरी आयआर्जन गर्न सिकाउनेछ । कार्यक्रमको औचित्यमाथि समावेशी अपाङ्गता समितिका अध्यक्ष रमेश भण्डारीले प्रकाश पार्नुभएको थियो ।

दुवै कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार ००:००  ८ : ४८ बजे