बिर्तामोड-बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ । नगरभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनाको उमेरभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा नगरपालिकाले नगर अस्पतालसहित १० वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ । नगर प्रमुख पवित्रा महतरा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडाध्यक्ष तथा स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
नगरपालिकाका अनुसार पूर्णखोप निर्देशिकाले तोकेका सबै सूचक पूरा भएपछि घोषणा प्रक्रिया सम्पन्न गरिएको हो । खोपबाट छुटेका बालबालिकाको खोजी, नियमित अनुगमन तथा अभिलेखीकरणलाई प्रभावकारी बनाइएकाले पूर्णखोप सुनिश्चितताको अवस्था हासिल भएको जनाइएको छ ।
यसैबीच, आगामी आर्थिक वर्ष २०८३/८४ मा समेत पूर्णखोप सुनिश्चितताको अवस्था कायम राख्ने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।
नगर प्रमुख प्रसाईं, उपप्रमुख संग्रौला, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरूले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा नगर प्रमुख प्रसाईंले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट वञ्चित हुन नहुने बताउँदै पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीले गरेको मेहनत प्रशंसनीय रहेको बताउनुभयो ।
प्राप्त उपलब्धिलाई दिगो बनाउँदै आगामी वर्षहरूमा समेत सबै बालबालिकालाई समयमै खोपको पहुँच सुनिश्चित गरिने उहाँको भनाइ थियो।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पूर्णखोप सुनिश्चितता कायम राख्न नियमित अनुगमन, अभिलेख अद्यावधिक तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।



















