बिर्तामोड– ‘म सम्पत्तिवालाको नाति हुँ, तर सकिएको बाबुको छोरो । आमाले साह्रै दुःखले हुर्काउनु भयो’, भोजपुरको प्याउलीमा जन्मेदेखि झापालाई कर्मथलो बनाउँदासम्मका आरोह-अवरोह सम्झिँदै अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो जीवनको सार खिच्नुभयो ।
प्रेस चौतारी झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रमको दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा उभिएर उहाँले आफ्नो पाँचदशक लामो पत्रकारिताको अनुभव र प्रेरणादायी भोगाइ नयाँ पुस्तामाझ बाँड्नु भएको हो ।

२०३२ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेका दाहालको सपना पत्रकार बन्ने थिएन । कक्षा २ मा भर्ना भएदेखि कहिल्यै दोस्रो हुनु नपरेका उहाँको लक्ष्य त बैंकको जागिर खाने थियो । तर, परिस्थितिले उहाँलाई पत्रकारिताको बाटोमा डोहोर्यायो ।
‘लाग्दालाग्दै बाहिर निस्कन नसकिने अवस्थामा पुगिएछ’, उहाँले आफ्नो यात्राको सुरुवातबारे भन्नुभयो । एसएलसीपछि स्कुलचौनको एक विद्यालयमा मासिक १२५ रुपैयाँ तलबमा शिक्षण गर्नुभयो ।
‘त्यो मेरो पहिलो र अन्तिम जागिर रहेछ’, उहाँले मुस्कुराउँदै सुनाउनुभयो, ‘त्यतिबेलाको तलब कति धेरै लाग्थ्यो, ४५ पैसामा पेटभरि खाजा आउँथ्यो ।’
पत्रकारितामा नआएको भए आफू एक शिक्षक वा बैंकर्स बन्ने सपना उहाँले सुनाउनु भयो । तर, २०३७ सालमा ‘मासिक जनज्योति’ पत्रिकामार्फत सुरु भएको पत्रकारिता यात्राले उहाँलाई समाजमा सम्मान दिलायो ।
‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो, पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो’, उहाँले भन्नुभयो ।
अग्रज दाहालको पत्रकारिता प्रतिको समर्पण लोभलाग्दो छ । २०६२/६३ को आन्दोलनपछि साप्ताहिक पत्रिकाले मात्र नपुग्ने निष्कर्षमा पुगेर उहाँले दमकबाट ‘पूर्वसन्देश’ दैनिक प्रकाशन सुरु गर्नुभयो ।
आज दमक र आसपासका क्षेत्रमा ‘पूर्वसन्देश’ को बलियो उपस्थिति छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि पत्रिका प्रकाशन नरोकिएको बताउँदै उहाँले भन्नुभयो, ‘एकदिन पत्रिका रोकियो भने मलाई निन्द्रा लाग्दैन । निरन्तरको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो ।’
लोडसेडिङको चरम समस्या हुँदा पत्रिकाको काम नरोकियोस् भनेर कम्प्युटर बोकेर विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर काम गरेको रोचक प्रसंगले उहाँको लगनशीलता प्रस्ट्याउँछ । अहिले पनि उहाँ दैनिक १२-१४ घण्टा पत्रिकाकै काममा खटिनुहुन्छ ।
छापा पत्रकारिताको युग सकियो भन्ने टिप्पणीप्रति असहमति जनाउँदै दाहालले शैलीगत परिवर्तन गरेर यसलाई अझै पाठकमाझ लैजान सकिने दृढ विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले सानो समाचारले पनि समाजमा ठूलो प्रभाव पार्थ्यो, अहिले पहिले जस्तो छैन ।’
तैपनि पत्रिकामा आम नागरिकको विश्वास गहिरो हुने भन्दै उहाँले नयाँ पुस्ताका पत्रकारलाई खोजमूलक समाचारमा लाग्न आग्रह गर्नुभयो ।
तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीको दोहोरो दबाबमा समाचार सन्तुलन गर्नुपरेका चुनौतीपूर्ण दिनदेखि दुई पटक प्रहरीले छापाखानामै छापा मारेका घटना सुनाउँदा उहाँले कहिल्यै काम नरोकेको दृढता व्यक्त गर्नुभयो ।
उहाँको सन्देश स्पष्ट थियो, ‘जेमा लागिन्छ, दिगो गरी लाग्नुस् । कुनै पनि पेशालाई निरन्तरता दिए मात्र सफलता प्राप्त गर्न सकिन्छ ।’ प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए, जसको उहाँले जवाफ दिनुभयो ।
चौतारीले हरेक तीन महिनामा यो श्रृंखलालाई निरन्तरता दिने बताएको छ । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू र झापाका पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।















