१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सरकारको आश्वासनपछि बन्द चिया उद्योग खुले



झापा-सरकारले निर्यातमा देखिएका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार पहिलो सातादेखि झापा र इलामका चिया उद्योगहरू बन्द भएका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गरेपछि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिए ।

“सरकारले विशेष कार्यदल गठन गरेर मन्त्रीस्तरबाटै छिट्टै पहल गर्ने आश्वासन दिएपछि हामीले उद्योग खोलेका हौँ,” गुप्ताले भने, “झापासँगै पहाडी जिल्लाका अर्थोडक्स चिया उद्योगहरू पनि खुल्ने क्रममा छन् ।”

चिया क्षेत्रको समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि र वाणिज्य मन्त्रालयका उपसचिव तथा भन्सार, खाद्य प्रविधि, नापतौल विभाग र चिया विकास बोर्डका उच्च अधिकारी सम्मिलित कार्यदल गठन गरिएको छ ।

उक्त कार्यदललाई दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । कार्यदलसँग छलफलका लागि झापा र इलामका चिया उद्योगीहरू हाल काठमाडौँमा छन् ।

भारतको चिया बोर्डले गत वैशाख १८ देखि नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि निकासी प्रभावित भएको थियो ।

नयाँ नियमअनुसार चिया बोकेको प्रत्येक गाडीले अनिवार्य प्रयोगशाला परीक्षण गराउनुपर्ने, रिपोर्ट आउन १५ दिन लाग्ने र प्रतिगाडी ११ हजार ५ सय भारु शुल्क तिर्नुपर्ने अव्यावहारिक व्यवस्था गरिएको थियो ।

नेपालको विरोधपछि ‘र्‍यान्डम स्याम्पलिङ’ गर्ने सहमति भए पनि भारतीय अधिकारीहरूले निर्यातकर्ताकै गोदाममा पुगेर नमुना संकलन गर्ने र रिपोर्ट नआएसम्म चिया उठाउन नदिने अडान राखेपछि निकासी पुनः ठप्प भएको थियो ।

उद्योगहरू बन्द हुँदा बगानमै चियापत्ती हुर्किएर घाँस बन्ने अवस्था आएको थियो भने दैनिक करिब २ करोड रुपैयाँको नोक्सानी भइरहेको थियो । यसबाट १ लाखभन्दा बढी मजदुर र ३० हजार किसान प्रत्यक्ष मारमा परेका थिए ।

नेपालमा वार्षिक २ करोड किलोभन्दा बढी सीटीसी र ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । तत्काललाई उद्योग खोलेर हरियो पत्ती प्रशोधन सुरु गरिए पनि निर्यात सहज नभएसम्म उत्पादित चिया गोदाममै भण्डारण गरेर राखिने संघले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ००:००  ११ : १६ बजे