१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

बिर्तामोडको बजारमा मरेका माछाको राज, स्थानीय उत्पादनलाई प्रोत्साहनको खोजी



बिर्तामोड– सोच्नुस् त, बजारमा ताजा, जिउँदो माछा किन्न जाँदा मरेका, त्यो पनि भारतबाट आएका र फर्मालिन जस्ता विषादी हालिएका माछा मात्रै भेटिए के होला ?

बिर्तामोडवासी अहिले यस्तै समस्या झेलिरहेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईं आफैं दिक्क हुनुहुन्छ, “हामीले त २०७९ असोजदेखि नै आयातित मरेका माछा बेच्न रोकेका थियौँ, तर के गर्नु, जिल्लाका अरु ठाउँमा खुलेआम बिक्री हुन्छ, अनि बिर्तामोडमा मात्रै रोक्न सकस भयो !”

लाग्छ, उपभोक्ताहरू पनि “जे पायाे त्यहीँ, सस्तो पाए झन् यहीँ” भन्दै स्वास्थ्यलाई तिलाञ्जलि दिएर विषाक्त माछा किनिरहेका छन् ।

परिणाम ? स्थानीय किसानले उत्पादन गरेको ताजा माछाले बजार पाउन छाडेको छ, उनीहरूको लगानी र मिहिनेत बालुवामा पानी खन्याए जस्तै भएको छ ।

तर, आशाको त्यान्द्रो भने बाँकी छ । नगर प्रमुख प्रसाईंले अब स्थानीय माछाको बजारीकरणमा कम्मर कस्ने र बजार अनुगमनलाई कडा बनाउने अठोट गर्नु भएको छ । भर्खरै २५ जना किसानलाई माछापालन र व्यवस्थापनको तालिम पनि दिइएको छ, जहाँ माछालाई लाग्ने रोगदेखि गुणस्तरीय उत्पादन सम्मका विषय सिकाइएका छन् ।

कृषि अनुसन्धान निर्देशनालय, तरहराका विज्ञ सुरजकुमार सिंहले स्थानीय उत्पादनलाई बढावा दिन सके मात्रै किसानको जीवनस्तर उकास्ने बताउनु हुन्छ ।

उपप्रमुख नगेन्द्र संग्रौलाले माछा पाल्दा बिजुलीको बिलले ढाड सेक्ने समस्यालाई बुझेर सहुलियतका लागि पहल गर्ने आश्वासन दिनु भएको छ ।

तालिममा सहभागी हरियाली कृषि फर्मका हरिप्रसाद मैनालीको जोश त झनै लोभलाग्दो छ ! उहाँ भन्नुहुन्छ, “सरकारले सिँचाइ र अन्य कुरामा अलिकति सघाउने हो भने बिर्तामोडलाई जिल्लामा मात्र होइन, कोशी प्रदेशकै माछा ‘हब’ बनाइदिन्छौँ !”

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार ००:००  १० : १० बजे