विराटनगर– मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा मोरङको रतुवामाई नगरपालिका-४ भद्रचोकस्थित हुलाकी सडकमा बिहीबार राति दुर्घटना हुँदा झापाका एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको गौरीगञ्ज गाउँपालिका-६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी रहेका छन् । उनले चलाएको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल विराटनगरबाट गौरीगञ्जतर्फ जाँदै गर्दा राति करिब १०ः३५ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानमा चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि रतुवामाई नगर अस्पताल, झुर्किया पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुने भन्दै त्यस्तो कार्य नगर्न सबै चालकलाई आग्रह गरेको छ। प्रहरीका अनुसार मापसेका कारण हुने दुर्घटनाले मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि निम्त्याउने गरेको छ ।


















