- शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजित : एमाले महासचिव पोखरेल
- अहिलेको सरकार समयको आवश्यकताले बनेको हो : प्रधानमन्त्री ओली
- घाँटी थिचेर वृद्धको हत्या : अनुसन्धानका लागि धरानबाट ल्याइयो तालिम प्राप्त कुकुर
- पूर्व राजा शाहमाथि कारबाहीको माग
- राप्रपा अध्यक्ष लिङ्देनको आरोपप्रति कांग्रेसको आपत्ति
पारिवारिक र सामाजिक बन्धनलाई तोडेर राजनीतिमा बेलगाम अगाडि बढेकी महिला राजनीतिज्ञ हुन् पवित्रा महतारा प्रसाई । राजनीतिक यात्रामा पवित्राका अनेकौँ सङ्घर्षपूर्ण अनुभव छन् । त्यही सङ्घर्षले उनको आत्मविश्वासको जग बलियो भएको हो । उनले अपनाएको सरल जीवनशैली धेरै महिलाका लागि प्रेरक छ । अहिले उनी बिर्तामोड नगरपालिकामा एमालेको तर्फबाट नगर प्रमुखको उमेद्वार छिन् ।
दृढअठोट र विश्वासको परिणाम हिजोका तिनै अनुभवको समिश्रणमा आफूलाई अझै जुझारु र सशक्त बनाउने प्रयासमा छिन् पवित्रा । ताप्लेजुङको विकट थेचम्वु गाउँ । त्यही गाउँको माटोमा २०२८ साल चैत १ गते बाबु हरिलाल र आमा नरमाया महताराकी माइली छोरीको रुपमा जन्मिएकी पवित्राले बिर्तामोड नगरपालिकाको उपप्रमुखका रुपमा पाँचवर्षे कार्यकाल पूरा गरिसकेकी छन् ।
पति विगोगको पीडाले अहिले पनि पवित्राका आँखा भरिन्छन् । भक्कानो फुटेर आउँछ । जन्मपछि मृत्यु निश्चित छ भन्ने सत्यलाई स्वीकार गर्नुको विकल्प पनि छैन ।
आफूलाई परेको बज्रपात सहेर भएपनि पवित्राले राजनीतिक सक्रियतालाई कहिल्यै रोकिनन् । उनका श्रीमान् ज्ञानुराम प्रसाईको गत असार २५ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
राजनीति, समाजसेवा र व्यवसायिक क्षेत्रका अगुवा थिए ज्ञानुराम । उनलाई गुमाउँदा सिङ्गो झापा रोएको थियो । उनको मृत्युको खबरले कुन पार्टीका मान्छे रोएनन् होला ? श्रीमान्को सपना पूरा गर्ने अठोट र संकल्पले पनि पवित्रालाई बिर्तामोडको राजनीतिमा अझ सशक्त ढंगले लाग्ने मौका मिलेको छ ।
जीवन हो, जीउनु पर्छ । कहिले अँध्यारो । कहिले उज्यालो । चक्रिय दुनियाँमा पवित्रालाई अनेकौँ दुःखको भारीले थिचेको छ । सहन गर्ने सामथ्र्यले पनि होला, उनी कहिल्यै हतास् भइनन् । कहिल्यै हारिनन् । नत कहिल्यै थाकिन् ।
प्रशंसा ठानिए पनि ठानियोस्, उनको उद्देश्यका ढोकाहरु सधैँ खुला छन् । राजनीतिमा सङ्कल्प, समर्पण र त्याग हो पवित्राको जीवन । अदम्य साहस हो उनको अविचलित राजनीतिक यात्रा । परिवारमा दुई सन्तानकी आदर्श आमा मात्रै होइन, असल गृहिणी पनि हुन् पवित्रा ।

आफूमा भएको क्षमता र अनुभवलाई राजनीतिमा अगाडि बढ्ने अवसरका रुपमा प्रयोग गर्ने थोरै महिलामध्येमा पर्छिन् उनी । कठिन परिश्रम गरेर पवित्राले आफूलाई राजनीतिक र सामाजिक क्षेत्रमा स्थापित गरेकी हुन् ।
श्रीमान्ले राजनीति गर्ने र श्रीमतीले घर व्यवहार धानिदिनुपर्ने सम्झौतापरस्त अवस्था पवित्राको जिन्दगीमा कहिल्यै आएन ।भनिन्छ, आमा हुनु भनेको ‘पोलिटिकल करिअर’ मा फेल हुनु हो । छोराछोरी भएपछि महिलाको राजनीतिक जीवन धरापमा परेका उदाहरण हेर्ने हो भने यसलाई असत्य भन्नै सकिँदैन । तर, पवित्राको जीवनमा यो कहिल्यै लागू भएन ।
कतिपय अवस्थामा छोराछोरीलाई दिने समय पनि राजनीतिमा खर्चिएको अनुभव उनीसँग छ । घरायसी कामधन्दा सकेर उनी पार्टी काममा सक्रिय भइन् । छोराछोरी सानो हुँदा पनि राजनीतिमा उनका पाइला रोकिएनन् । अब त छोराछोरी हुर्किसके ।
जवाफदेहिता र पारदर्शिता राजनीतिका अपरिहार्य विषय हुन् । त्यसलाई पछ्याउनु असल नेताको कर्तव्य हो भन्ने ठान्छिन् उनी । संविधानप्रदत्त ‘नगर न्यायाधीश’ का रुपमा पवित्राले बिर्तामोड नगरपालिकामा जिल्लाको उत्कृष्ट न्यायिक समितिका रुपमा प्रशंसा बटुलिन् ।
‘आफ्नो आदर्श, निष्ठा र कर्तव्यमा मेरो भूमिका अझै प्रभावकारी होस् भन्ने जनचाहना छ’, उनले भनिन्, ‘त्यो विश्वास टुट्न नदिने गरी काम गर्न म प्रतिवद्ध छु । मलाई तपाईहरुको जनमतको खाँचो छ ।’