२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

एमाले अध्यक्ष ओली भन्छन्, ‘प्रचण्डले जितेर देखाउन्, माधव नेपाल चुनाव लड्ने आँट गर्दैनन्’



झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जितेर देखाउन सत्ता गठबन्धनका दुई प्रभावशाली नेता प्रचण्ड र माधव नेपाललाई चुनौति दिएका छन् । सत्ता गठबन्धनलाई अस्थिर र विध्वंशकारी तत्व भन्दै अध्यक्ष ओलीले त्यस्ता तत्वलाई जनताले निर्वाचनमा भोट नदिने बताए ।

झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले गठबन्धन दलको असली नियत जनताले देखिसकेको टिप्पणी गरे ।

‘प्रचण्डको फूर्ति हामीले जगाई दिएको हो, अब जितेर देखाउन् त’, एमाले अध्यक्ष ओलीले भने, ‘माधव नेपाल अब चुनाव लड्दैनन्, समानुपातिकमा बस्छन् आउँला र खाउँला भनेर । त्यो हुनेवाला छैन् ।’

कांग्रेस नेतृत्वको गठबन्धन सरकार साढे तीन महिना नपुग्दै ढलपल गरिरहेको बताउँदै एमाले अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारलाई चौतर्फी घेराबन्दीमा पारेर पनि हटाउन तीनवर्ष लागेको स्मरण गरे ।

अध्यक्ष ओलीले राजदूत फिर्ता गरेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु लज्जास्पद भएको टिप्पणी गरे । अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्न चाहनेको देशव्यापी लहर रहेको बताए ।

‘देश र जनताको पक्षमा काम गर्ने भएकाले एमालेमा प्रवेशको लहर छ’, अध्यक्ष ओलीले भने, ‘नराम्रो कामलाई एमालेले समर्थन गर्दैन् । अनुचित काममा लाग्दैन् ।’

राष्ट्रिय आकांक्षा भनेको समृद्ध नेपाल र सुखी नेपाली भएको बताउँदै अध्यक्ष ओलीले यो अभिभारा एमाले नेतृत्वको सरकारले मात्रै पूरा गर्न सक्ने बताए । ‘व्यक्तिगत स्वार्थ र अहंकार लिएर हिँड्ने समय होइन यो’, अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचरण र अभ्यासमा पनि अगाडि रहेको बताए । सधैँ बसेर कार्यकतालाई सम्वोधन गर्दै आएका एमाले अध्यक्ष ओलीले आज भनेर उठेर भाषण गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार ००:००  ६ : ३८ बजे