९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

एक महिना नपुग्दै बालेन सरकारबाट बाहिरिए दुई मन्त्री



झापा-बालेन साह नेतृत्वमा सरकार गठन भएको एक महिनासमेत नपुग्दै दुई मन्त्री पदबाट बाहिरिएका छन् । कार्यशैली र व्यक्तिगत आचरणमाथि प्रश्न उठेपछि उनीहरूले मन्त्री पद गुमाएका हुन् ।

यसअघि श्रममन्त्री दीपककुमार साह सरकार गठन भएको १३ दिनमै पदमुक्त भएका थिए । आफ्नी पत्नीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराउन भूमिका खेलेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए ।

उनलाई फिर्ता बोलाउन सम्बन्धित दलले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा साह पदबाट हटाइएका थिए ।

सरकार गठनको २६ औं दिनमा गृहमन्त्री सुधन गुरुङले पनि पदबाट राजीनामा दिएका छन् । सम्पत्ति विवरण सार्वजनिक गरेपछि त्यसमा अस्वाभाविक विवरण देखिएको भन्दै प्रश्न उठ्न थालेको थियो ।

माइक्रो इन्स्योरेन्सलगायत विभिन्न क्षेत्रमा गरिएको थप लगानीबारे विवरण बाहिरिएपछि उनी थप दबाबमा परेका थिए । सरकार र सत्तारूढ गठबन्धनभित्रैबाट आलोचना चुलिएपछि उनले बुधबार राजीनामा दिएका हुन् ।

गुरुङले सञ्चालन गर्दै आएको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको आरोपसमेत सार्वजनिक भएपछि उनीमाथि नैतिक दबाब बढेको थियो ।

छोटो अवधिमै दुई मन्त्री बाहिरिएपछि सरकारको निर्णय प्रक्रिया र मन्त्री छनोटबारे समेत प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार ००:००  ३ : ०३ बजे