१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

घरायसी प्रयोजनका सामग्रीमा रोक छैन : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल



काठमाडौँ-सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले भारतबाट घरायसी प्रयोजनका लागि ल्याइने दैनिक उपभोग्य सामग्रीमा कुनै अवरोध नरहेको बताएका छन् । नागरिक फ्रन्टलाइनसँगको अन्तर्वार्तामा उनले व्यक्तिगत प्रयोगका लागि ल्याइने खाद्य तथा आवश्यक सामग्रीमा रोक नलगाइएको स्पष्ट पारे।

उनका अनुसार नुन, दाल, तेल, चामल लगायतका सामग्री घरायसी प्रयोजनका लागि ल्याउँदा समस्या छैन। ‘सामान्य उपभोगका वस्तुमा रोक छैन’, उनले भने, ‘तर व्यावसायिक प्रयोजनका लागि अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यमा कडाइ गरिएको छ ।’

सरकारले भारतबाट नेपाल ल्याइने एक सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार अनिवार्य गरेपछि सिमावर्ती नाकामा त्यसको प्रभाव देखिएको छ। राजस्व संकलन बढाउने नीतिअनुसार भन्सार जाँच कडा बनाइएको हो।

यससँगै, सिमानाबाट दैनिक सामान ल्याएर जीविका चलाउँदै आएका स्थानीयहरू प्रभावित भएका छन्। सशस्त्र प्रहरीका अनुसार दैनिक करिब एक हजारभन्दा बढी मानिसले व्यावसायिक प्रयोजनका सामग्री ओसारपसार गर्ने गरेका छन्। महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू समेत यस्तो गतिविधिमा संलग्न देखिने गरेका छन्।

महानिरीक्षक अर्यालले कानुन कार्यान्वयन र राजस्व सङ्कलनका लागि कडाइ आवश्यक भएको उल्लेख गर्दै घरायसी आवश्यकतामा भने सहजिकरण गरिएको बताएका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ००:००  ९ : ०६ बजे