७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ब्याजदर बढाएर निक्षेप खोस्न बैँकहरुको होडबाजी




झापा–लगानीयोग्य रकमको अभाव चुलिन थालेपछि सोमबारदेखि १८ वटा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज बढाएका छन् । १० वटा बाणिज्य बैंकले बैंकर्स एसोसिएसनमा भएको सहमति लत्याउँदै निक्षेपमा ब्याजदर बढाएका हुन् ।

सरकार नियन्त्रित संस्थाहरुको रकम तान्ने बैंकहरुको होडले ब्याजदर उकालो लागेको छ । बैंकका सिइओहरुको छाता संगठन बैंकर्स एसोसिएसनमा आइतबार बसेको बैठकले ब्याजदरलाई १० प्रतिशतको सीमामा राख्ने सहमति गरेको थियो ।

तर, सोमबार बिहानबाट लागू हुने गरी १० वटा बाणिज्य बैंकले १० प्रतिशतभन्दा माथि ब्याजदर दिने घोषणा गरेका छन् । लगानीयोग्य रकमको अभाव बढेपछि ब्याजदर बढाएर बैंकले अर्काको निक्षेप खोस्न थालेका हुन् ।

हिमालय बैंकले संस्थागत निक्षेपकर्तालाई १ वर्षभन्दा माथिकोमा २७ बैंकहरुमध्ये सबै भन्दाबढी अर्थात ११ दशमलव ६७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । निक्षेपमा बढेको ब्याजले आगामी दिनमा कर्जाको ब्याज पनि बढाउने देखिन्छ । तर, बैंकरहरु यो मान्न तयार छैनन् ।

ब्यक्तिगत मुद्दति निक्षेपमा भने एनआइसी एसियाले ११ दशमलव १० प्रतिशत ब्याज दिने बताएको छ । जुन असोज महिनाको तुलनामा साढे २ प्रतिशत बढी हो । तर, संस्थागत निक्षेपमा भने हिमालय बैंकले ३ दशमलव ६७ प्रतिशत बढाएको छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष जस्ता सरकार नियन्त्रित संस्थाहरुको रकम तान्ने बैंकहरुको होडले ब्याजदर उकालो लागेको हो । बाणिज्य बैंकहरुले ब्याजदरमा होडबाजी गरेपछि बिकास बैंकहरुको समेत ब्याजदर उकालो लागेको छ ।

यही दरमा बैंकहरुबीच ब्याजदरमा प्रतिस्पर्धा भए उत्पादन लागत बढ्ने र सरकारले लक्ष्य राखेअनुसार आर्थिक बृद्धि हुन कठिन हुने बैंकरहरु स्वीकार्छन् । कर्जाको ब्याजदर बढ्न नदिन अब सरकारले बिकास खर्च बढाउनु जरुरी देखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार ००:००  ८ : ०६ बजे