झापा– अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षणमा सीमित नराखी आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल अडिटर्स एशोसिएसन झापा (अडान) को २१ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा वक्ताहरूले अडिट पेशाको विश्वसनीयता, व्यवसायिक नैतिकता र गुणस्तरीय सेवाले मुलुकको आर्थिक प्रणालीलाई मजबुत बनाउने बताएका हुन् ।
नेपाल अडिटर्स एशोसिएसन अफ नेपाल (AUDAN) का केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट प्रतिवेदन वित्तीय विवरण परीक्षणमा मात्र सीमित नरही व्यवसायी, बैंक, लगानीकर्ता र सरकारका आर्थिक निर्णयको आधार बन्ने भएकाले इमानदारी, स्वतन्त्रता र निष्पक्षता अपरिहार्य रहेको बताए ।
कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशाको सबैभन्दा ठूलो सम्पत्ति विश्वसनीयता भएको उल्लेख गर्दै बदलिँदो नियामकीय व्यवस्था र डिजिटल वित्तीय प्रणालीअनुसार निरन्तर अध्ययन, सीप विकास र व्यवसायिक आचरण सुदृढ गर्नुपर्नेमा जोड दिए ।
अडान झापाका अध्यक्ष पर्शुराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अडिट पेशामा देखिएका चुनौती, अवसर र क्षमता अभिवृद्धिबारे छलफल भएको थियो ।


















