सुब्रत न्यौपाने, बिर्तामोड
झापाको बिर्तामोडस्थित बालकल्याण आवासीय माध्यमिक विद्यालयको कक्षा–४ मा अध्ययनरत एलिजा घिमिरे कहिले विद्यालय खुल्छ भन्ने पर्खाइमा छिन् । आगनसँग जोडिएको विद्यालयमा १६ महिनादेखि उनका पाइला परेका छैनन् । उनलाई आफ्नै विद्यालय विरानो जस्तो लाग्न थालिसक्यो । विद्यालयको बन्द मुल ढोकामा सधैँ उनका आँखा ठोकिन्छन् । कतै खुलिपो हाल्छ कि भन्ने पनि लाग्छ । अभिभावकले अहिले स्कूल खुल्दैन भनेर उनलाई सम्झाइरहेका छन् ।
एलिजा जस्तै मेचीनगरको बाल सुबोधिनी माध्यमिक विद्यालयकी कक्षा–८ की छात्रा आस्था सुवेदीलाई पनि विद्यालय चाँडै खुलोस् भन्ने लागेको छ । विद्यालय कहिले खुल्छ भन्ने एलिजा र आस्था जस्ता धेरै बालबालिकाको जिज्ञासा अभिभावकले मेटाउन सकेका छैनन् । नत उनीहरुलाई पढाउने शिक्षक शिक्षिकालाई थाहा छ । कोरोना भाइरसको बढ्दो संक्रमणले एलिजा र आस्था जस्ता हजारौँ बालबालिका विद्यालय शिक्षाको अवसरबाट टाढा छन् ।
बालबालिकाको उमेर पढ्ने र खेल्ने हो । नाचगान गर्न र चित्र कोर्न पनि बालबालिका मनपराउँछन् । यी र यस्ता नियमित प्रक्रियाबाट वञ्चित भएका बालबालिकाको ध्यान मोबाइल र टिभीमा छ । यसको असर विस्तारै देखिँदैछ । खेल्ने, पढ्ने र रमाउने बाल चाहना चौघेराभित्र सीमित हुँदा बालबालिकाको मानसिक अवस्था कमजोर बन्दै गएको मेचीनगरको बाल सुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापा बताउँछन् ।
- सहाराद्वारा कृषक समूहलाई बीउ बोका वितरण
- बिर्तामोडलाई आदर्श च्यालेन्ज कपको उपाधि
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
‘कतिपय बालबालिकाले आफू स्कूल जान नपाउनुको कारण अभिभावकसँग सोधिरहेका छन्’ प्रअ थापाले भने, ‘तर, चित्तबुझ्दो जवाफ कसैसँग पनि छैन् ।’ संक्रमणको जोखिमका विषयमा बालबालिकालाई कसरी बुझाउने भन्नेमा अभिभावक पनि दक्ष छैनन् । राम्रोसँग बुझाउन नसक्दा कोरोना लागेपछि मरिहालिन्छ भन्ने डर पालेर बालबालिका बसेका छन् । संक्रमणको जोखिमलाई डरलाग्दो बनाएर सुनाइदिँदा बालबालिकामा चिन्ता थपिएको छ ।
संक्रमणको जोखिम बुझाउने अभिभावकीय शैलीमा फरक पर्दा बालबालिकाले मनोबैज्ञानिक त्रास भोग्नु परिरहेको दुर्गा मावि गरामनीका शिक्षक धर्मेन्द्र भट्टराई बताउँछन् । ‘विद्यालयहरुलाई सरकारले कोरोना संक्रमित राख्न क्वारेन्टाइन बनाएको सुनेका बालबालिकामा एक प्रकारको त्रास देखिएको छ’, शिक्षक भट्टराईले भने, ‘भोलि कसरी स्कूल जाने भन्नेमा पनि उनीहरु संशकित छन् ।’
कोरोनाको तेस्रो संक्रमणले बालबालिका प्रभावित हुन्छन् भनेर सुनाइरहँदा उनीहरुको मानसिक अवस्थामा आघात पुग्ने प्रअ थापा बताउँछन् । ‘दोस्रो लहरको संक्रमणमा हाम्रो विद्यालयका आठ जना विद्यार्थी संक्रमित भएका छन्’, प्रअ थापाले भने, ‘तीमध्ये पाँचजना निको भइसके । तीनजना अहिले होम आइसोलेसनमा बसेका छन् ।’ कक्षा १ मा पढ्ने ६ वर्षीय विद्यार्थी पनि संक्रमित भएको प्रअ थापाले सुनाए ।
पहिलो लहरको संक्रमण सामान्य हुँदै जाँदा विद्यालय खुल्ने क्रम सुरु भएको थियो । तर, विद्यार्थीको उपस्थिति भने पातलो थियो । सीमान्तकृत समुदायका विद्यार्थी झन् कम संख्यामा कक्षामा देखिएका थिए । निरन्तरको बन्दले सीमान्तकृत समुदायका विद्यार्थी विद्यालय फर्किने सम्भावना कम हुने शिक्षक भट्टराई बताउँछन् । अर्कातिर विद्यालयमा दिइने पोषण कार्यक्रम बन्द हुँदा बालबालिका कुपोषणको सिकार हुने खतरा पनि उत्तिकै छ ।
विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षामा मात्र होइन समग्र पक्षमा अभूतपूर्व जोखिम सिर्जना भएको छ । चित्र कोर्न, पढ्न, नाच्न, गाउन उनीहरुले पाएका छैनन् । साथीसँग भेट्न नपाएको पनि लामो समय बितिसकेको छ । घरमा थुनिएर बस्नु पर्दाको पीडाले बालबालिको शारीरिक तथा मानसिक अवस्थामा तीव्र असर परिरहेको छ ।
विद्यालय बन्द भएपछि बैकल्पिक शिक्षण अभ्यासमा अनलाइन कक्षा सञ्चालन गरिएको छ । ‘अनलाइन कक्षा बालबालिकालाई अल्मल्याउने मेलो मात्रै हो’, अभिभावक लक्ष्मीप्रसाद घिमिरे भन्छन्, ‘बालबालिकाले अनलाइनमा ध्यान केन्द्रीत गर्नै सक्दैनन् ।’ उनले अनलाइन कक्षाबाट विद्यार्थीले २५ प्रतिशत भन्दाबढी नसिक्ने बताए ।
इन्टरनेट स्पीडमा हुने घटबढ, अनियमित बिजुली लगायतका कारणले पनि अनलाइन कक्षाको प्रभावकारिता बढ्न नसकेको घिमिरेको अनुभव छ । नाम मात्रैका अनलाइन कक्षाले अभिभावकको आर्थिक भार झन् बढेको छ । अनलाइन कक्षाका लागि मोवाइल खरिद, इन्टरनेट जडान र त्यसको मासिक शुल्कको व्यवस्थापन गर्नुपर्ने दायित्व अभिभावकको काँधमा थपिएको छ ।