७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

बिर्तामोड-१० मा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि साझा प्रतिबद्धता



झापा-बिर्तामोड नगरपालिका-१० मा वडाभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले ‘विद्यालयमा आमा कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, टोल विकास संस्था र जनप्रतिनिधिहरूले शिक्षा सुधारका लागि साझा प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दुर्योधन गुरुङले वडा नं. १० लाई शैक्षिक हबका रूपमा विकास गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले विद्यालयको भौतिक विकाससँगै अभिभावकको नियमित निगरानी र सहभागिताले शैक्षिक गुणस्तर वृद्धि सम्भव हुने धारणा राख्नुभयो।

गोष्ठीमा विद्यालयहरूले बालमैत्री वातावरण, प्रविधिमैत्री शिक्षण, अतिरिक्त क्रियाकलाप, स्वच्छ खानेपानी, सफा शौचालय र पारदर्शी व्यवस्थापनमा जोड दिने प्रतिबद्धता जनाए।

शिक्षकहरूले विद्यार्थीको मनोविज्ञानअनुसार शिक्षण गर्ने, अनुशासित बन्ने र कमजोर विद्यार्थीलाई विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

अभिभावकहरूले बालबालिकासँग साथीसरह व्यवहार गर्ने, घरमा पठनपाठनको वातावरण बनाउने, गृहकार्यको निगरानी गर्ने र समय–समयमा विद्यालय पुगेर जानकारी लिने सहमति जनाए।

जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूले विद्यालयको नियमित अनुगमन, पाठ्यक्रममा एकरूपता, स्वास्थ्य तथा पुस्तकालय सुविधा विस्तारमा समन्वय गर्ने बताएका छन्।

कार्यक्रममा दुई दिनमा १८८ जना सरोकारवालाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता रेजिना गौतमले गर्नुभएको थियो भने सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार ००:००  ८ : ५० बजे