कालीस्थान-नयाँ वर्ष २०८३ को अवसर पारेर कालीस्थानमा आयोजित बालबालिका महोत्सव-२०८३ सम्पन्न भएको छ । बालबालिकामा रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित महोत्सवमा हस्तलेखन, सांस्कृतिक कार्यक्रम, फुटबल तथा मिनी म्याराथुन लगायत विविध प्रतियोगिता सञ्चालन गरिएको थियो ।
हस्तलेखन प्रतियोगितामा नेपाली र अंग्रेजी दुवै विषयमा १० वर्षमुनी तथा ११-१५ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा गराइएको थियो । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पुरस्कृत गरिएको थियो । यस्तै सांस्कृतिक कार्यक्रममा नृत्य, गायन र वाद्यवादन प्रस्तुत गरिँदा मारुनी नृत्य प्रस्तुत गर्ने ग्रेसी पौडेल प्रथम भइन् ।
फुटबलतर्फ चार टिम सहभागी भएका थिए, जसमा नब्य निन्जास प्रथम र ह्वाइट टाइगर द्वितीय भएका छन् । मिनी म्याराथुनमा पनि विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले विजेतालाई पुरस्कार वितरण गरेका थिए । साथै केही विद्यार्थीलाई जेहेन्दार तथा अनुशासित विद्यार्थीका रूपमा नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।
















