झापा– जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट यस वर्ष सात जनाको मृत्यु भएपछि झापामा सञ्चालन भइरहेको जेईविरुद्धको खोप अभियानमा आठ दिनमै ५४.८ प्रतिशत लक्ष्य पूरा भएको छ ।
असोज ५ गतेदेखि जिल्लाका १५ वटै स्थानीय तहमा सञ्चालन भइरहेको अभियानअन्तर्गत असोज १२ गतेसम्म २ लाख ७० हजार २४८ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार अभियानअन्तर्गत ४ लाख ९३ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियान असोज १५ गतेसम्म सञ्चालन हुँदैछ ।
खोप लगाउनेमध्ये १ लाख ५४ हजार २७३ जना महिला र १ लाख १५ हजार ९७५ जना पुरुष छन् । उमेर समूहका आधारमा ३० देखि ६० वर्षसम्मका २ लाख ३ हजार ५१६ र ६० वर्षभन्दा माथिका ६६ हजार ७३२ जनाले खोप लगाएका छन् ।
जेईको जोखिम बढेपछि सञ्चालन गरिएको अभियानअघि नै झापामा १३ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको थियो । मृत्यु हुनेमध्ये कसैले पनि जेईविरुद्धको खोप नलगाएको कार्यालयले जनाएको छ ।
यस वर्ष जेई संक्रमणबाट मृत्यु हुनेको संख्या झापा देशमै सबैभन्दा बढी रहेको स्वास्थ्यसम्बन्धी विवरणमा उल्लेख छ । भदौसम्म जिल्लामा मृत्यु हुनेको संख्या छ पुगेको थियो भने त्यसपछि भद्रपुरका ८ वर्षीय बालकको मृत्यु भएपछि संख्या सात पुगेको हो ।
स्थानीय तहगत रूपमा सबैभन्दा धेरै खोप मेचीनगरमा लगाइएको छ । मेचीनगरमा ४० हजार ३१३ जनाले खोप लगाएका छन् । दमकमा ३५ हजार ६०५, बिर्तामोडमा २८ हजार ६२६, शिवसताक्षीमा २० हजार ७६९, गौरादहमा १९ हजार ८३६, अर्जुनधारामा १८ हजार २९ र कनकाईमा १७ हजार ९२८ जनाले खोप लगाएका छन् ।
त्यस्तै कमलमा १५ हजार ५६९, झापा गाउँपालिकामा १२ हजार १०२, बुद्धशान्तिमा १३ हजार ८८०, गौरीगञ्जमा ११ हजार ७७९, भद्रपुरमा १० हजार २०५, हल्दिबारीमा ८ हजार ९३८, कचनकवलमा ८ हजार ५८४ र बाह्रदशीमा ८ हजार ८५ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जेई क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । संक्रमणले मस्तिष्कमा असर पार्ने भएकाले जोखिम क्षेत्रका नागरिकलाई लामखुट्टेको टोकाइबाट जोगिन र लक्षित उमेर समूहका नागरिकलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।



















