१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

हिरासतमा अचेत भेटिएका पुरुषको मृत्यु



विराटनगर– तास खेलिरहेको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विराटनगरका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला मंगलबार बिहान हिरासतभित्रै अचेत अवस्थामा भेटिएका थिए । प्रहरीले उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो ।

कोशी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा उपचारकै क्रममा मंगलबार बिहान करिब ११ बजे चिकित्सकले कोइरालालाई मृत घोषणा गरेका हुन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कोइराला बिहान करिब ७ः३० बजे हिरासतभित्र अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई तत्काल कोशी अस्पताल हुँदै नोबेल पुर्‍याइएको थियो ।

कोइरालालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे भने थप विवरण खुल्न बाँकी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार ००:००  १२ : ५४ बजे