१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

शिवसताक्षीका २३ सामुदायिक विद्यालयमा पूर्णकालिक प्रधानाध्यापक



झापा– शिवसताक्षी नगरपालिकाले विद्यालय विकास प्रस्तावका आधारमा नगर क्षेत्रका २३ सामुदायिक विद्यालयमा पूर्णकालिक प्रधानाध्यापक नियुक्त गरेको छ ।

माध्यमिक तथा आधारभूत तहका विद्यालयमा छनोट भएका शिक्षकलाई पाँच वर्षे करार सम्झौतासहित प्रधानाध्यापकको नियुक्तिपत्र दिइएको हो ।

विद्यालय विकास प्रस्ताव मूल्यांकन प्रक्रियाबाट छनोट भएका शिक्षकलाई नगरपालिकाले प्रधानाध्यापक नियुक्त गरेको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयको नेतृत्वलाई प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर, व्यवस्थापन र कार्यसम्पादन सुधार गर्ने उद्देश्यले पूर्णकालिक प्रधानाध्यापकको व्यवस्था गरिएको हो ।

नगर प्रमुख मेगाहाङ थोप्राले शिक्षा ऐनले तोकेको प्रक्रियाअनुसार विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्ने कार्यमा शिवसताक्षी झापामै अग्रणी रहेको दाबी गर्नुभयो । विद्यालयको समग्र विकासका लागि प्रधानाध्यापकलाई जिम्मेवारीसँगै आवश्यक अधिकारसमेत दिनुपर्ने उहाँको भनाइ छ ।

‘विद्यालयको नेतृत्व बलियो भयो भने मात्रै शैक्षिक सुधारले गति लिन सक्छ,’ थोप्राले भन्नुभयो, ‘पूर्णकालिक प्रधानाध्यापक नियुक्तिसँगै उहाँहरूको जिम्मेवारी र जवाफदेहिता पनि बढेको छ ।’

नगरपालिकाका अनुसार केही विद्यालयमा प्राविधिक तथा प्रक्रियागत समस्या रहेकाले तत्काल प्रधानाध्यापक नियुक्त गर्न सकिएको छैन । ती समस्या समाधान गरी बाँकी विद्यालयमा पनि विद्यालय विकास प्रस्तावका आधारमा पूर्णकालिक प्रधानाध्यापक नियुक्त गर्ने तयारी छ ।

नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनु कार्कीले नियुक्तिसँगै प्रधानाध्यापकको जिम्मेवारी र जवाफदेहिता पनि बढेको बताउनुभयो ।

उहाँका अनुसार कार्यसम्पादनका आधारमा कानुनबमोजिम थप एक कार्यकालका लागि अवधि थप गर्न सकिने व्यवस्था छ । अपेक्षाअनुसार काम गर्न नसकेमा नगरपालिकाले कानुनी व्यवस्थाअनुसार आवश्यक निर्णय लिन सक्ने उहाँले बताउनुभयो ।

नयाँ व्यवस्थाअनुसार प्रधानाध्यापकले विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व, शिक्षक-विद्यार्थीबीचको समन्वय र समुदायसँगको सम्बन्ध सुधारमा समेत जिम्मेवारी लिनुपर्नेछ ।

विद्यालयको नेतृत्वलाई कार्ययोजना र कार्यसम्पादनसँग जोड्ने नगरपालिकाको अपेक्षा छ ।

नवनियुक्त प्रधानाध्यापकलाई नगरप्रमुख थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे तथा सम्बन्धित वडाध्यक्षहरूले बधाई तथा शुभकामना दिनुभयो ।

पूर्णकालिक प्रधानाध्यापकको नियुक्तिसँगै अब विद्यालयको नेतृत्व केवल प्रशासनिक जिम्मेवारीमा सीमित नरही विद्यालय विकास योजना, शैक्षिक उपलब्धि र कार्यसम्पादनको प्रत्यक्ष जिम्मेवारीसँग जोडिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ००:००  ९ : २१ बजे