झापा– शिवसताक्षी नगरपालिकाले नगरको स्थानीय इतिहास, संस्कृति, भूगोल र मौलिकतालाई समेटेर तयार पारेको स्थानीय पाठ्यपुस्तक ‘शिवसताक्षीको पहिचान’ सार्वजनिक गरेको छ ।
कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार गरिएको पुस्तक नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे तथा वडाध्यक्षहरूले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
विद्यार्थीलाई आफ्नै गाउँ-ठाउँ, समाज र परिवेशबारे विद्यालय तहबाटै जानकारी गराउने उद्देश्यले पुस्तक तयार पारिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । पुस्तकमा शिवसताक्षीका पर्यटकीय तथा धार्मिकस्थल, जातजाति, भाषा, धर्मसंस्कृति, परम्परा, प्राकृतिक सम्पदा र स्थानीय मौलिकतालाई विषयवस्तु बनाइएको छ ।
शिक्षा अधिकृत छवि ढकालका अनुसार पहिलो चरणमा कक्षा १ देखि ३ सम्मका लागि पाठ्यपुस्तक तयार पारिएको हो । क्रमशः कक्षा थप गर्दै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको तयारी छ ।
स्थानीय पाठ्यक्रममार्फत विद्यार्थीलाई आफ्नो समुदायसँग जोड्ने र स्थानीय पहिचानबारे व्यवहारिक ज्ञान दिने लक्ष्य राखिएको ढकालले बताउनुभयो ।
स्थानीय इतिहास, कला, संस्कृति, प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीयस्थलबारे अध्ययन गर्दा विद्यार्थीमा आफ्नो ठाउँप्रति अपनत्व र पहिचानको भावना विकास हुने नगरपालिकाको अपेक्षा छ ।
नगरपालिकाले स्थानीय आवश्यकता र परिवेशलाई शिक्षासँग जोड्ने गरी पाठ्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसअन्तर्गत आगामी चरणमा थप कक्षाका लागि आवश्यक पाठ्यसामग्री विकास गर्दै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ ।
स्थानीय विषयवस्तुलाई विद्यालयको पाठ्यक्रममै समेटिएपछि शिवसताक्षीका विद्यार्थीले आफ्नो नगरलाई किताबबाटै चिन्न पाउने भएका छन् ।
नगरपालिकाले यसलाई स्थानीय ज्ञान, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने शैक्षिक प्रयासका रूपमा अघि बढाएको छ ।



















