१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

४ जीपीए ल्याउने विद्यालयसहित गौरादहका उत्कृष्ट शिक्षक-विद्यार्थी सम्मानित



गौरादह– झापाको गौरादह नगरपालिकाले २०८२ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ ।

नगरपालिकाले नगर सभाहलमा आयोजना गरेको कार्यक्रममा ७ उत्कृष्ट विद्यालय, १२ सेवा निवृत्त तथा दीर्घसेवी शिक्षक, ६ उत्कृष्ट शिक्षक र २२ उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

नगर शिक्षा अधिकृत विदुर आचार्यका अनुसार २०८२ सालको एसईईमा ४ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गर्ने माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा छनोट गरिएको हो । सम्मानित विद्यालयलाई जनही १५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

माध्यमिक तहतर्फ जनता माध्यमिक विद्यालय गौरादह–१, माउण्ट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालय, विद्यादेवी अंग्रेजी माध्यमिक विद्यालय र इमिनेन्ट कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालय सम्मानित भएका छन् ।

आधारभूत तहतर्फ दुर्गादेवी आधारभूत विद्यालय, मदन आश्रित आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय गौरादह–६ उत्कृष्ट घोषित भएका छन् ।

नगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई समेत प्रोत्साहन गरेको छ । माध्यमिक तथा आधारभूत तहमा उत्कृष्ट जीपीए ल्याउने २२ विद्यार्थीलाई जनही ९ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै, विभिन्न तहमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६ शिक्षकलाई ११ हजारदेखि १५ हजार रुपैयाँसम्म नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

उत्कृष्ट कर्मचारी तथा बालशिक्षकलाई ११ हजार, कक्षा १ देखि ५ सम्मका शिक्षकलाई १२ हजार, कक्षा ६ देखि ८ सम्मका शिक्षकलाई १३ हजार तथा कक्षा ९ देखि १२ सम्मका उत्कृष्ट शिक्षकलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रममा नगरपालिकाअन्तर्गतका विद्यालयमा लामो समय सेवा गरी निवृत्त भएका तथा दीर्घ सेवा गरेका १२ शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित शिक्षक तथा विद्यार्थीलाई नगरप्रमुख क्षेत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, नगर शिक्षा अधिकृत आचार्यलगायत वडाध्यक्षहरूले सम्मानपत्र प्रदान गरेका थिए ।

गौरादह नगरपालिकामा हाल ३२ सामुदायिक र २१ संस्थागत गरी ५३ विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले उत्कृष्ट नतिजा र शैक्षिक योगदानलाई सम्मान गर्दै विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ००:००  ९ : १३ बजे