१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

दसैंमा झापामा चामल, चिनी र नुनको मूल्य घटाइयो



झापा-दसैंलाई लक्षित गर्दै झापामा चामल, चिनी र नुनको सहुलियत मूल्य तोकिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा सोमबार बसेको बैठकले अत्यावश्यक खाद्यवस्तुको सहज आपूर्ति र उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्य निर्धारण गरेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुखसँगको बैठकले चामल जिरा मसिनो प्रतिकेजी ७५ रुपैयाँ, सोना मन्सुली ५७ रुपैयाँ, चिनी ११० रुपैयाँ र नुन २४ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार चामल जिरा मसिनोको अधिकतम बिक्री मूल्य प्रतिकेजी ८० रुपैयाँबाट ५ रुपैयाँ छुट गरी ७५ रुपैयाँ तथा सोना मन्सुली चामल ६२ रुपैयाँबाट ५ रुपैयाँ छुट गरी ५७ रुपैयाँमा बिक्री गरिनेछ । त्यस्तै नुनको प्रतिकेजी २६ रुपैयाँ अधिकतम मूल्यमा २ रुपैयाँ छुट दिई २४ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको छ ।

बैठकले दसैंको समयमा अत्यावश्यक खाद्य सामग्रीको अभाव हुन नदिन पर्याप्त मौज्दात कायम गर्ने र जिल्लाभर सहज आपूर्ति सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ । उपभोक्तालाई सहुलियत मूल्यबारे जानकारी गराउने र बजारमा नियमित आपूर्ति कायम राख्ने निर्णयमा उल्लेख छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाभरका २५ भन्दाबढी विक्रेतामार्फत नुन र चिनी थोक रूपमा उपलब्ध गराई आपूर्ति तथा वितरण सहज बनाउने भएको छ ।

बैठकले दसैंका अवसरमा स्थानीय उद्योगी-व्यवसायी, उद्योग वाणिज्य संघ, व्यापारीक संघसंस्था तथा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वस्फूर्त रूपमा सहुलियत, छुट तथा राहतका प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सार्वजनिक आह्वान गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलसहित कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख दीपककुमार राजवंशी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपाने र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख राजबहादुर राई सहभागी थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ००:००  ३ : ०० बजे