काठमाडौं-नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको केही घण्टामै छाडेको छ । शनिबार रातिदेखि टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका जबरालाई सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार जबरालाई कुनै मुद्दामा पक्राउ गरिएको नभई सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा राखिएको थियो । ‘उहाँलाई सुरक्षित स्थानमा पठाएका छौं,’ प्रहरी स्रोतले भन्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो । उनलाई राति नै टेकु पुर्याएर सोधपुछ गरिएको थियो ।
जबराले पनि आफूलाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भन्दै सुरक्षाका लागि प्रहरीले राति नै कार्यालयमा ल्याएको बताएका थिए । यद्यपि, उनलाई नियन्त्रणमा लिने विषयमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको थिएन ।
यसअघि जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले भेट्न नदिएको थियो । करिब ४५ मिनेट कार्यालयको गेटमा बसेपछि आयोगको टोली फर्किएको थियो ।



















