शनिश्चरे– झापाको अर्जुनधारा-११ स्थित देउनिया खेलमैदानमा हुने प्रथम सालबारी–मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा असोज १७ देखि प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगितामा आयोजकसहित झापा र पाँचथरका आठ भेट्रान्स टोली सहभागी हुनेछन् । उद्घाटन खेलमा ज्ञाने चोक भेट्रान्स पृथ्वीनगर र झिलझिले भेट्रान्सबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा आयोजक मिलडाँडा भेट्रान्सले चन्द्रगढी भेट्रान्स क्लबसँग खेल्नेछ ।
त्यस्तै, तेस्रो क्वाटरफाइनलमा पाँचथरको बौद्ध भेट्रान्स र चारपाने युनाइटेड भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम क्वाटरफाइनलमा मेची भेट्रान्स र बिर्तामोड भेट्रान्स आमनेसामने हुनेछन् ।

प्रतियोगिताको फाइनल असोज २४ गते हुनेछ । विजेता टोलीले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘प्लेयर अफ दी म्याच’लाई नगद २ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भेट्रान्स खेलाडीलाई प्रतिस्पर्धामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक नन्दलाल खतिवडाले बताए ।



















